राजनीति


देउवासहितका पाँच नेता सिंहदरबारमा, आगामी रणनीति तय गर्दै

देउवासहितका पाँच नेता सिंहदरबारमा, आगामी रणनीति तय गर्दै

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १०:२६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पाँच दलका शीर्षनेता आगामी रणनीति तय गर्न छलफलमा जुटेका छन्।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेले निष्काशन गरेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी छन्।

बैठक झण्डै पौने घण्टादेखि चलिरहेको छ। आगामी दिन कसरी अघि बढ्ने भन्ने विषयमै छलफल भइरहेको देउवानिकट स्रोतले जनाएको छ।

पाँचै दलका तर्फबाट १ सय ४९ सांसदले जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएका थिए।

तर, दाबी नपुग्ने भन्दै खारेज गरेर प्रतिनिधि सभा नै भंग गरेपछि १ सय ४६ जना सांसदले सोमबार सर्वाेच्च अदालतमा सशरीर उपस्थित भएर मुद्दा दर्ता गराएका छन्।

मुद्दा दर्ता गर्नुअघि सोमबार पनि पाँच दलका शीर्ष नेतृत्वबीच सिंहदरबारमा छलफल भएको थियो।

स्रोतका अनुसार आजको बैठकमा हिजो सर्वाेच्चमा सांसदहरुको उपस्थितिबारे समीक्षा भएको छ।

‘हामीले सोचेजस्तै सबै साथीहरु सशरीर उपस्थित भएर हामीसँग बहुमत रहेको देखाइसकेका छौँ’, एक नेताले भने, ‘अब राष्ट्रपतिले हाम्रो दाबीलाई खारेज गर्ने निर्णय गलत थियो भन्ने पुष्टि भएको छ, यसबारे अदालतले पनि छिट्टै निर्णय दिनेछ।’

कांग्रेससहितका विपक्षी पाँच दलले स्थानीय तहसम्मै मोर्चा बनाएर जाने सहमति गरिसकेका छन्।

जसपाभित्र महन्थ ठाकुर–राजेन्द्र महतोहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर खुलेका छन्। यस्तै एमालेमा पनि नेपालसहितका ११ नेतालाई निष्काशन गरिएकोले नयाँ रणनीति तय गर्न पाँच दल छलफलमा बसेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad