राजनीति


साना दलले भने : राष्ट्रपति र प्रधानमन्त्रीको कदमले देशलाई संकटमा लैजाँदैछ

साना दलले भने : राष्ट्रपति र प्रधानमन्त्रीको कदमले देशलाई संकटमा लैजाँदैछ

नेपालखबर
जेठ १०, २०७८ सोमबार ८:४७,

 २२ सना दलले राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने कदमले देशलाई झन् संकटमा लैजाने बताएका छन्।

२२ साना दलको कार्यगत एकताको तर्फबाट सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै पुनः संसद् विघटन गरेर आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने घोषणाले पहिलेदेखि नै सङ्कटबाट गुज्रिरहेको नेपालको राजनीति झन् भयानक सङ्कटको सामना गर्ने अवस्थामा पुगेको बताएका छन्।

'जनता कोरोना महामारीबाट आक्रान्त छन्। अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर बिरामीहरु छट्पटाइरहेका छन् र केयौंले ज्यानसमेत गुमाइसकेका छन्। लामो समयदेखि निरन्तर भइरहेको निषेधाज्ञाका कारण निम्न आय भएका र दिनदिनै श्रम गरेर धानिनुपर्ने अवस्थामा रहेका जनताले दैनिक जीवन धान्न नसकेर विचल्ली भइरहेको छ। यतिखेर नेपाल राष्ट्र र नेपाली जनताको पहिलो र सर्वोच्च प्राथमिकताको विषय जीवनरक्षा हो । यसप्रति राष्ट्रपति र प्रधानमन्त्रीमा देखिएको तिरस्कार र संवेदनहीनताको हामी भत्र्सना गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मङ्सिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएकै समयमा संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र भएको उनीहरुको भनाई छ।

'जनता आफ्नो जीवनरक्षा चाहन्छन्, चुनाव होइन। यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन। त्यसकारण, सम्पूर्ण राष्ट्रलाई नै यतिखेर जनताको जीवनरक्षामा केन्द्रित हुन हामी अपिल गर्दछौं र यससम्बन्धी राष्ट्रपतिले गरेको गलत निर्णय अविलम्ब खारेज गर्न हामी जोडदार माग गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी लगायत छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad