नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिनका लागि माधव नेपाल समूहमा सक्रिय तीन एमाले सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
सो समूहमा सुरुदेखि सक्रिय रहेका गोकर्ण विष्ट, पवित्रा निरौला र गणेश पहाडीले देउवाको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
यी तीनैजना सांसदले जेठ ७ गते प्रधानमन्त्री पद दाबी गर्न देउवा बहुमत सांसदहरुको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुग्दा भने हस्ताक्षर गरेका थिए। त्यसदिन देउवाको पक्षमा २६ जना सांसदको हस्ताक्षर थियो भने आज २३ जनाले हस्ताक्षर गरेका छन्।
जेठ ७ गते देउवाको पक्षमा उभिएका उनीहरु अहिले किन पछि हटे भनी कुनै कारण भने सार्वजनिक रुपमा प्रष्ट पारेका छैनन्।
गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले भने उनको स्वास्थ्य अवस्थाका कारण हस्ताक्षर संकलनमा सहभागी हुन नसकेको बताएका छन्।
‘माननीय गोकर्ण विष्ट उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहनुभएको सबैमा जानकारी गराउँदछु,’ विष्टका पूर्व प्रेस संयोजक मदन खनालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।
देउवाको पक्षमा हस्ताक्षर संकलन गरी नेताहरु सर्वाेच्च अदालत पुग्नै लाग्दा विष्टका सहयोगी खनालले सो जानकारी दिएका थिए।
विष्ट आफैले भने कुनै जानकारी सार्वजनिक गरेका छैनन्।
निरौला भने यति नै बेला आफ्नो गृहजिल्ला झापा गएकी छन्।
पहाडीले अहिलेसम्म कुनै कारण प्रष्ट्याएका छैनन्।

प्रतिक्रिया