नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिने पूर्वनिर्धारित समयभन्दा ढिला भएको छ।
सो मागमा माधवकुमार नेपाल पक्षमा थप एमाले सांसदहरुलाई मनाउने कोशिसमा अदालत जानका लागि पूर्वनिर्धारित समयभन्दा केहि ढिला हुनगएको अन्तरपार्टी छलफलमा सहभागी नेपाली कांग्रेसका एक नेताले बताए।
देउवालाई प्रधानमन्त्री बनाउने पक्षका सांसदहरुको हस्ताक्षर गर्ने क्रम हिजोदेखि सुरु गरी आज अदालत खुलेपछि छिट्टै रिट निवेदन दर्ता गर्ने कार्यक्रम तय गरिएको थियो।
तर थप एमाले सांसदहरुलाई मनाउने क्रममा केहि समय लागेको नेताहरुले बताएका छन्।
अहिलेसम्म एमालेका २३ सहित कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी कूल १ सय ४६ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरिसकेका छन्।
देउवाको पक्षमा प्रष्ट बहुमत हुँदाहुँदै पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेको भनी विपक्षी गठबन्धनका नेताहरु अदालत जान लागेका हुन्।
सर्वोच्च अदालत जान लागेका विपक्षी गठबन्धनका शीर्ष नेताहरु अदालत जानुअघि सिंहदरबारमा बैठक गरिरहेका छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेताहरु छलफलमा जुटेका हुन्।

प्रतिक्रिया