परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले वितरण गर्न लागेको ८ करोड डोज कोरोना खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
अमेरिकाकी उपविदेशमन्त्री विन्डी सेरमर्नसँगको टेलिफोन संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले सो आग्रह गरेका हुन्।
'परराष्ट्रमन्त्रीले उपविदेशमन्त्रीसँग विकसित देशलाई वितरण गर्ने अतिरक्ति खोप प्रदान गर्दा नेपाललाई प्राथमिकताम राख्न अनुरोध गर्नुभयो' परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत साता अमेरिकी राष्ट्रपति जो बाईनेडले ८ करोड डोज खोप ६ साताभित्र वितरण गरिने बताएका थिए।
त्यस लगत्तै कोरोना प्रभावित विभिन्न देशहरुले खोप उपलब्ध गराइदिन आग्रह गर्दै आएका छन्। खोपसहितको विषयमा छलफल गर्नका लागि भारतीय विदेशमन्त्री एस जयशंकर आज अमेरिका जाँदैछन्।
टेलिफोन संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारी नियन्त्रणका लागि अमेरिकाले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।
'अमेरिकी सहयोगले महामारीलाई सम्बोधन गर्नका लागि राष्ट्रिय क्षमताको विकास हुने छ' ज्ञवालीले भनेका थिए।
टेलिफोन संवादमा उपविदेशमन्त्री सेरमनले कोरोना महामारीसहित नेपालको समाजिक आर्थिक विकास क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिएकी छन्।
'दशकौदेखि दुवै देशबीच राम्रो सम्बन्धमा अभ्यास दुवैले गर्दै आएका छन् भन्दै उहाँले पाइपलाइनको रहेको परियोजना कार्यान्वयनले नेपालको समृद्धिको नयाँ बाटो खोल्ने छ' विज्ञप्तिमा भनिएको छ।
दुवै मन्त्रीहरुबीचको छलफलमा जलवायु परिवर्तनको विषयमा सहकार्य गर्ने समेत छलफल भएको थियो।

प्रतिक्रिया