चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेका डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तथानाम गालीगलौज गर्दै आक्रमणको धम्की दिएका छन्।
मेडिकल माफियाका रुपमा परिचित व्यवसायी प्रसाईंले सुवेदीलाई धम्क्याएको अडियो मिडिया तथा सामाजिक सञ्जालमा बाहिरिएको छ।
प्रसाईं झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक हुन्। उक्त कलेजलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्बन्धन दिनलागेको विषयमा प्रितमले सवाल उठाएपछि प्रसाईंले उनलाई भौतिक आक्रमण गर्ने धम्की दिएका हुन्।
साह्रै निकृष्ट रुपमा प्रस्तुत भएका प्रसाईंले सुवेदीको पारिवारिक सदस्यमाथि समेत मुख छाडेको अडियोमा स्पष्ट सुनिन्छ।
सुवेदीले ‘एउटा विश्वविद्यालयले ५ वटाभन्दा सम्बन्धन दिँदैन भनेर त ऐनमै छ अनि त कसरी हुन्छ?’ भनेर प्रश्न गरेपछि प्रसाईंले एक्कासि आक्रोशमा आई ‘तँ को होस् ऐनमा ल्याउने, तँ को होस्?’ तथानाम गाली गरेका छन्।
ऐन, मापदण्डको सवाल उठाएपछि प्रसाईंले तथानाम गाली गर्दै आक्रमणको धम्की दिएका हुन्। अडियोमा सुनिन्छ, ‘तँ धेरै नबोल भाइ’ भेटेँ भने तेरो तीन इन्ची छाला सर्ने गरी हानिदिन्छु, साला डाँका!’
प्रसाईंको मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्बन्धन दिन खोजेको भन्दै डा. केसीको अभियानले विरोध गरेको थियो।
यता सोलिडारिटी फर डा. केसीले प्रसाईंले सुवेदीलाई धम्क्याएको र परिवारका सदस्यलाई समेत तथानाम गरेको भन्दै आपत्ति जनाएको छ। सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै अभियन्ता सु्वेदीमाथि कुनै भौतिक आक्रमण भए त्यसको जिम्मेवार प्रसाईं हुने स्पष्ट पारेका छन्।
प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी दिने पनि क्षेत्रीले जनाएका छन्। उनले भनेका छन्, ‘सुवेदी कोभिड संक्रमणका कारण आइसोलेनमा भएकाले अहिलेसम्म प्रहरीमा जाहेरी गरेका छैनन् तर छिट्टै प्रसाइँविरुद्ध किटानी जाहेरी दर्ता गर्नेछन्।’
क्षेत्रीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अडानविपरीत आयोगको बैठक बोलाएर जबर्जस्ती सम्बन्धन अघि बढाइए त्यसको कडा प्रतिवाद गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रतिक्रिया