राजनीति


माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे देउवा निवासमा छलफल

माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे देउवा निवासमा छलफल

मणि दाहाल
जेठ ७, २०७८ शुक्रबार ७:५४,

नेकपा एमालेको असन्तुष्ट पक्षले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने विषयमा छलफल सुरु गरेको छ।

शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा विपक्षी दलहरुसँग भएको छलफलपछि नेता नेपालले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा आफ्नो समूहभित्र छलफल थालेका हुन्।

देउवा निवासमा भएको छलफलमा नेता नेपालले बहुमतका लागि आवश्यक संख्या आफ्नो पार्टी एमालेभित्र जुटाउन सके नेपाली कांग्रेस र माओवादी केन्द्रको पनि साथ रहने बताइएको थियो।

‘विपक्षी दलहरूबाट सुझाव आएपछि यो विषयमा छलफल सुरु भएको छ,’ नेपालनिकट एक स्थायी कमिटीका सदस्यले नेपालखबरसँग भने, ‘आवश्यक संख्यामा पुर्‍याउने तयारी भइरहेको छ। नेपाल नेतृत्वमा नयाँ सरकार बन्ने हो भने अहिलेको संख्यामा अझै बढ्नेछ।’

बूढानीलकण्ठमा भएको बैठकमा नेता नेपालले आफ्नो नेतृत्वमा सरकार बनाउन सहमति हुने हो भने आफूले एमालेका ३५ जनासम्म सांसदलाई आफ्ना पक्षमा ल्याउन सक्ने जानकारी गराएका थिए।

विपक्षी दलहरूबाट आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आउनेबित्तिकै नेता नेपाल आन्तरिक छलफलका लागि बाहिरिएका छन्।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासमा मत प्राप्त गर्न नसक्ने देखेपछि नयाँ सरकार गठनका लागि ‘मार्गप्रशस्त’ गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आज अपराह्न ५ बजेसम्म समय दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .