जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले बोलाएको संसदीय दलको बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा हिजो राति प्रधानमन्त्री र राष्ट्रपतिसँग भएको कुराकानीबारे पार्टीमा जानकारी गराएको बैठकपछि महन्थ ठाकुरले बताए।
‘हिजो जुन प्रगतिहरु भएको छ, त्यस विषयमा साथीहरुलाई जानकारी गरायौँ’, अध्यक्ष ठाकुरले भने।
आफूहरु सुरुदेखि नै तटस्थ बस्दै आएको भए पनि ओलीको विरोधमा नरहेको प्रस्ट पारे। कांग्रेसले सर्वदलीय बैठकमा आफूहरुलाई खबर नगरेको उनले बताए।
बिहीबार राति सरकार र जसपाको यो पक्षबीच संविधान संशोधनका लागि अध्ययन गर्न ५ सदस्यीय कार्यदल बनेको छ।
कार्यदलमा सरकारको तर्फबाट अग्नि खरेल, विष्णु रिमालसहित तीन जना र जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहने भएका छन्।
सरकारले हिजै नागरिकतासम्बन्धी अध्यादेश भने जारी गरिसकेको छ।
जसपाको एक पक्षका संसदीय दलका नेता समेत रहेका राजेन्द्र महतोले जसपा अहिले सरकार बनाउनेभन्दा पनि आफ्ना माग मुद्दा संवोधन गराउने पक्षमा रहेको बताए।
आफ्ना माग मुद्दालाई सहयोग गर्नेलाई जसवपाले पनि सहयोग गर्ने उनको भनाइ छ।
‘औचित्य आवश्यकता कहिले नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो औचित्य आवश्यकता देखे र संविधान संसोधनको सुझावका लागि कार्यदल गठन भएको छ। अब संविधान संशोधन केके गर्ने हो, त्यो कार्यदलमा छलफल हुन्छ। कार्यदलले अध्ययन गरेर प्रतिवेदन दिन्छ’, महतोले भने।
जन्मसिद्ध नागरिकका सान्तानले नागरिकता नपाउने समस्या सरकारले सम्बोधन गरेको उनले बताए।
हिजो सरकारसँगको सहमती अनुसार अध्यादेश जारी भएको र मुद्दा फिर्ताको प्रक्रिया पनि अगाडि बढ्ने उनले बताए।
पहिलो चरणमा १२० जनाको मुद्दा फिर्ता भएको र दोश्रो चरणको पनि विधि पु¥याएर रिहा गर्ने समझदारी सरकारसँग भएको उनले बताए।
‘हामी पदको दौडमा छैनौं, हामी माग मुद्दामा केन्द्रीत छौं, जसले संवोधन गर्छ उसलाई सहयोग गर्छौं’, महतोले भने।
राष्ट्रपतिले आज साँझसम्म वैकल्पिक सरकार गठनका लागि समय दिएकी छन्। सरकार गठनका लागि निर्णायक देखिएको ठाकुर महतो पक्ष तटस्थ बस्ने बताउँदै आएको छ। जसपा एक नहुँदा कांग्रेस माओवादी गठबन्धनले बहुमत पु¥याउन सकेको छैन भने एमाले एक नहुँदा ओली समेत अप्ठेरोमा परेका छन्।
दुवै पक्षले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दावी पेश गर्न कसरत गरिरहेका छन्।

प्रतिक्रिया