प्रधामन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) मन्त्रिपषिद् बैठक राख्ने भएका छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आज दिउँसो २ बजे एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दैछ।
त्यो सकिएलगत्तै साढे २ बजे बस्ने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीको सचिवालयले जनाएको छ।
बैठकको विषयवस्तु भने खुलाइएको छैन।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन चलिरहेकै बेला प्रधानमन्त्री ओलीले एकैसाथ पार्टी र मन्त्रिपरिषदको बैठक बोलाउनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
संसदमा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा पुनः प्रधानमन्त्री बनेका ओलीले चाँडै विश्वासको मत लिने तयारी पनि गरिरहेका छन्।
यसअघि गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले विपक्षी दललाई बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएकी थिइन्।
तर उनीहरूले बहुमत जुटाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार वैशाख ३० गते राति ओली नै पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। यसरी बनेको प्रधानमन्त्रीले ३० दिनभित्र फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
यो पनि : उपनिर्वाचनबीच एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

प्रतिक्रिया