राजनीति


राष्ट्रिय सभा उपनिर्वाचन आज: नेपाल पक्षले साथ नदिँदा गृहमन्त्री थापाको जित कठिन

राष्ट्रिय सभा उपनिर्वाचन आज: नेपाल पक्षले साथ नदिँदा गृहमन्त्री थापाको जित कठिन

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १:३३,

गृहमन्त्री रामबहादुर थापा दल त्यागको कारबाहीमा परेपछि राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि आज (बिहीबार) मतदान हुँदैछ।

यसअघि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित बागमती प्रदेशमा बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको हो।

चुनावमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री थापा र एमालेकै नेपाल पक्षको समेत सहभागितामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। साथै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्।

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्डलगायत सबै व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता हुन्।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बागमती प्रदेश सभाका सदस्य ११० र प्रदेशमा रहेका गाउँपालिका/नगरपालिकाका प्रमुख/उपप्रमुख २३८ गरी आजको उपनिर्वाचनका लागि कूल ३ सय ४८ मतदाता छन्। मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ ।

यस हिसाबले बागमती प्रदेश सभामा १ सय १० प्रदेश सांसदको मतभार ५ हजार २ सय ८० र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय ३८ जनाको मतभार ४ हजार २ सय ८४ गरी कूल मतभार ९ हजार ५ सय ६४ हुन्छ।

बागमती प्रदेश सभामा सबैभन्दा बढी सांसद एमालेकै छ। अर्थात् ५७ जनामध्ये केही दिनअघि मात्र सांसद पशुपति चौलागाईंको निधन भएकाले अहिले ५६ छ। यस्तै स्थानीय तहका प्रतिनिधितर्फ पनि एमालेकै सबैभन्दा बढी १ सय ३३ जना छन्। यी सबैको मतभार ५ हजार ८२ हुन्छ।

तर गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने बताएको एमालेकै माधव नेपाल पक्षतर्फ कम्तीमा २२ प्रदेश सांसद र झन्डै ४० जना स्थानीय तहका प्रतिनिधि छन्। अर्थात् नेपाल पक्षमा कम्तीमा ६० मतदाता छन्। यो भनेको मतभार १ हजार ७ छ।

उता विपक्षी गठबन्धनका कांग्रेससँग २२ प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख ६८ जना गरी ९० जना मतदाता छन्। जसको कूल मतभार २ हजार २ सय ८० हुन्छ । त्यस्तै माओवादी केन्द्रसँग २३ प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख ३३ जना गरी कूल ५६ मतदाता छन्। जसको कूल मतभार १ हजार ६ सय ९८ हुन्छ। यी दुवै दलको मतभार जोड्दा ३ हजार ९ सय ७८ हुन्छ।

नगण्य मतदाता रहेको राप्रपाले थापालाई नै मत दिने निर्णय गरेको भए पनि नेपाल पक्षतर्फको १ हजार ७ मतभार डा. देवकोटातर्फ गयो भने उनलाई जित्न कठिन देखिन्छ।

उम्मेदवारी दर्ता भइसकेपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टीमा एक हुने सहमति भएर अहिले वार्ता जारी छ। तर गृहमन्त्री थापाले नेता नेपालको निवास (कोटेश्वर) मै पुगेर चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरे पनि नेता नेपालले नसकिने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad