पश्चिमी न्यून चापीय प्रणाली र भारतमा रहेको चक्रवात ताउतेको प्रभावले आज (बिहीबार) पनि देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि काठमाडौं उपत्यकालगायत देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले बिहीबार (आज) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना छ। साथै उच्च हिमाली भेगका केही स्थानमा भारी हिमपात/वर्षाका सम्भावना छ।
यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।
यसैगरी उच्च हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
भारतमा खासगरी गुजरात राज्यमा विनास निम्त्याएको ताउते चक्रवातले नेपालमा पनि केही दिनयता मौसम बदली वर्षा गराइरहेको छ। मौसम महाशाखाका अनुसार ताउते अहिले गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको छ।
यो पनि : गुजरातमा ताउतेको ताण्डव : हेर्नुहोस्, यी १३ तस्बिरमा
भोलि शुक्रबारदेखि भने वर्षाको मात्रा कम हुँदै जाने सम्भावना महाशाखाले औंल्याएको छ। शुक्रबार दिउँसो देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा लेखिएको छ: देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावनासमेत रहेकाले खोलानालाहरूमा जलप्रवाह बढ्ने र यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना छ। आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया