ad ad

राजनीति


मदन भण्डारीकी पत्नी राष्ट्रपति भएका बेला त्यो रहस्यको अन्तिम निर्क्योल गरौं: डा. भट्टराई

मदन भण्डारीकी पत्नी राष्ट्रपति भएका बेला त्यो रहस्यको अन्तिम निर्क्योल गरौं: डा. भट्टराई

नेपालखबर
जेठ ३, २०७८ सोमबार ८:१४,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति तथा आफूलाई मदन भण्डारीको उत्तराधिकारी दाबी गर्ने केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दासढुंगा दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता पत्ता लगाउन सम्बन्धित पक्षसँग माग गरेका छन्।

२८ वर्षअगाडि आजैका दिन अर्थात् २०५० जेठ ३ गते चितवनस्थित दासढुंगामा भएको गाडी ‘दुर्घटना’मा परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। तर त्यो स्वाभाविक दुर्घटना नभई रहस्यमय घटना थियो। तर आजसम्म त्यसको वास्तविकता पत्ता लाग्न सकेको छैन। आज जेठ ३ गते उनीहरूको २८औं स्मृति दिवस हो।

यसै सन्दर्भमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले अहिले एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा पूर्व एमाले नेतृसमेत रहेकी भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएकाले त्यो रहस्यमय दासढुंगा दुर्घटनाको अन्तिम निर्क्योल गरिनुपर्ने बताएका हुन्।

अन्यथा मदन–आश्रितको नाममा आदर्श नछाँट्न पूर्वमाओवादीसमेत रहेका डा. भट्टराईले चेतावनी दिएका छन्।

‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन,’ डा. भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौं!’

आज बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस क्रममा एमाले नेता नेपालले पनि दासढुंगा दुर्घटनाको छानबिन गर्न माग गरेका छन्। तर प्रधानमन्त्री ओलीले यस विषयमा केही बोलेका छैनन्।

यो पनि : मदन–आश्रित स्मृति दिवसमा ओली–नेपाल आरोपप्रत्यारोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .