राजनीति


विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

नेपालखबर
साउन १, २०८३ शुक्रबार १७:५३, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि पौडेललाई २० करोड ९० लाख बिगो कायम गर्दै बिहीबार मुद्दा दर्ता गरिएको थियो।

पहिलो चरणमा दीपक भट्टलगायतविरुद्ध मुद्दा दायर गरिसकेको सम्पत्ति शुद्धीकरण विभागले पूरक अभियोगमा पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाइएको थियो।

विष्णु पौडेल अनुसन्धानका क्रममा चुन्नुप्रसाद पौडेल र कमलकिशोर मालपानीले दिएको बयानका आधारमा तानिएका थिए। उनीहरूले बयानमा श्रीराम टोवाको उद्योग प्रालिले उद्योगको जगेडामा रहेको सेयरमध्येबाट हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिलाई ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको बताएका छन्।

सेयर बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने कर कट्टा गरी सबै सेयरधनीलाई वितरण गरिएको उनीहरूले बताएका छन्। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २० लाख कित्ता सेयर बिक्री गर्दा तत्कालीन अर्थमन्त्री पौडेलले सहजीकरण गरिदिएको आरोप उनीहरूले लगाएका छन्। 

सफ्रन सीके इन्भेस्टमेन्टको नाममा हिमालयनको सेयर खरिद गरिएको थियो। अर्थमन्त्री पौडेलले सहजीकरण गरेकै कारण प्रिमियम शुल्क नपरेको चुन्न र मालपानीको बयान छ। 

पौडेलकै कारण पछि श्रीराम टोवाकोलाई राजस्व अनुसन्धान विभागको कारबाही र सुपारी आयातमा सहुलियत भएको दाबी पनि उनीहरूले बयानमा गरेका छन्। 

तर पूर्वअर्थमन्त्री पौडेलले कानुनबमोजिम नीतिगत निर्णयमा सहभागी भएको दाबी आफ्नो बयानमा गरेका छन्। 

आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको किताबी मूल्य ८१६ रुपैयाँ ७१ पैसा रहेकोमा प्रतिकित्ता १०० का दरले बिक्री गरेर दीपक भट्टलाई तत्काल १० करोड नाफा भएको र उक्त रकम भुक्तानी गरेको दाबीसमेत अभियोगपत्रमा गरिएको छ।

त्यसपछिका आर्थिक वर्षमा पनि ९ करोड भन्दा बढि रकम भुक्तानी भविष्यमा लाभांशमा समायोजन गर्ने गरी भुक्तानी दिएको, ३ करोड ७५ लाख लगानी गरेको कम्पनीबाट तत्कालै २० करोड ९० लाख लाभांश र अग्रिम भुक्तानी गर्नुको आधार र कारण नदेखिएको अनुसन्धानको निष्कर्ष छ। 

सेयर कम मूल्यमा बिक्री गरेको देखाई पहिलो वर्ष १० करोड र दोस्रो वर्षमा १० करोड ९० लाख रुपैयाँ अग्रिम लाभांश दिएको देखिएको छ। यही रकम बराबर पौडेललाई पनि बिगो कायम गरिएको छ। तर पौडेलले यी कसुरमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै बयान दिएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad