पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्दा दायर गरिएको छ।
बिहीबार विशेष अदालतमा दर्ता मुद्दामा पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको छ। पहिलो चरणमा दीपक भट्टलगायतविरुद्ध मुद्दा दायर गरिसकेको सम्पत्ति शुद्धीकरण विभागले पूरक अभियोगमा पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ।
विष्णु पौडेल अनुसन्धानका क्रममा चुन्नुप्रसाद पौडेल र कमलकिशोर मालपानीले दिएको बयानका आधारमा तानिएका हुन्। उनीहरूले बयानमा श्रीराम टोवाको उद्योग प्रालिले उद्योगको जगेडामा रहेको सेयरमध्येबाट हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिलाई ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको बताएका छन्।
सेयर बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने कर कट्टा गरी सबै सेयरधनीलाई वितरण गरिएको उनीहरूले बताएका छन्। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २० लाख कित्ता सेयर बिक्री गर्दा तत्कालीन अर्थमन्त्री पौडेलले सहजीकरण गरिदिएको आरोप उनीहरूले लगाएका छन्।
सफ्रन सीके इन्भेस्टमेन्टको नाममा हिमालयनको सेयर खरिद गरिएको थियो। अर्थमन्त्री पौडेलले सहजीकरण गरेकै कारण प्रिमियम शुल्क नपरेको चुन्न र मालपानीको बयान छ।
पौडेलकै कारण पछि श्रीराम टोवाकोलाई राजस्व अनुसन्धान विभागको कारबाही र सुपारी आयातमा सहुलियत भएको दाबी पनि उनहरूले बयानमा गरेका छन्।
तर पूर्वअर्थमन्त्री पौडेलले कानुनबमोजिम नीतिगत निर्णयमा सहभागी भएको दाबी आफ्नो बयानमा गरेका छन्। तर चुन्नप्रसाद, मालपानी र विष्णुपौडेलबिच धेरैपटक मोबाइलमा सम्पर्क भएको अनुसन्धानमा खुलेको छ।
आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको किताबी मूल्य ८१६ रुपैयाँ ७१ पैसा रहेकोमा प्रतिकित्ता १०० का दरले बिक्री गरेर दीपक भट्टलाई तत्काल १० करोड नाफा भएको र उक्त रकम भुक्तानी गरेको दाबीसमेत अभियोगपत्रमा गरिएको छ।
त्यसपछिका आर्थिक वर्षमा पनि ९ करोड भन्दा बढि रकम भुक्तानी भविष्यमा लाभांशमा समायोजन गर्ने गरी भुक्तानी दिएको, ३ करोड ७५ लाख लगानी गरेको कम्पनीबाट तत्कालै २० करोड ९० लाख लाभांश र अग्रीम भुक्तानी गर्नुको आधार र कारण नदेखिएको अनुसन्धानको निष्कर्ष छ।
सेयर कम मूल्यमा बिक्री गरेको देखाई पहिलो वर्ष १० करोड र दोस्रो वर्षमा १० करोड ९० लाख रुपैयाँ अग्रिम लाभांश दिएको देखिएको छ। यही रकम बराबर पौडेललाई पनि बिगो कायम गरिएको छ।
तर पौडेलले यी कसुरमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै बयान दिएका छन्।
यस्तो छ विष्णु पौडेलको बयान
नेपाल बिमा प्राधिकरण प्रचलित कानुनबमोजिम स्थापना भई सञ्चालन भएको स्वायत्त निकाय भएकाले अर्थमन्त्रीले उक्त प्राधिकरणलाई निर्देशन दिन मिल्ने कानुनी व्यवस्था छैन। विरुद्धको उल्लेखित उजुरीको बेहोरा सम्पूर्ण रूपमा झुटा हो।
उजुरीमा कुनै पनि सत्यता छैन। मलाई लगाइएका यी आरोपहरू तथ्य र प्रमाणमा आधारित छैनन्। हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बिमाहरूको इजाजत दिने वा नदिने भन्ने अधिकार नेपाल बिमा प्राधीकरणमा निहित रहेको विषय हो। हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बिमाहरूलाई इजाजत दिने र एपीआई पोलिसी, ब्रोकर लाइसेन्सदेखि नयाँ स्टक एक्सचेन्जसँग सम्बन्धित विषयमा मेरो कोही कसैसँग कुनै प्रकारको संलग्नता छैन। मविरुद्ध लगाइएका सबै आरोपहरू आधारहीन र सरासर झुटा हुन्। मैले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर दीपक भट्टको कम्पनीलाई दिनु भनी उक्त कम्पनीका सञ्चालकहरूलाई भनेको र भेट गराएको भन्ने आरोप सरासर झुटा हो। दीपक भट्ट र श्रीराम टोवाको उद्योगबिचको आपसी सम्बन्धमा मेरो कही कतै र कुनै हिसावले संलग्न छैन। उक्त उद्योगका सञ्चालकहरूसँग म उम्मेदवार रहेको जिल्लाको निर्वाचन क्षेत्रका बासिन्दा भएकाले मसित चिनजान हुनु सामान्य कुरा हो।
श्रीराम टोवाको उद्योग प्रालिको २० प्रतिशत सेयर मैले भनेबमोजिम दीपक भट्टको कम्पनीलाई दिलाएको भन्ने कुरा झुटा हो। आफूलाई जानकारी नभएको वा आफू संलग्न नभएको कुनै व्यक्ति वा व्यावसायीहरूबिचको आपसी कारोबारको जिम्मा मैले लिनुपर्छ भन्ने हुन सक्दैन। मैले म अर्थमन्त्री हुँदाका बखत पद र प्रभावको दुरुपयोग गरी उच्च मूल्यको श्रीराम टोवाको उद्योग प्रालिको सेयर न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको नियन्त्रणमा रहेको हिमालयन एसेस्टलाई दिलाउने व्यवस्था मिलाएको भन्ने आरोप सरासर झुटा हो। निजले उक्त कम्पनीबाट ठुलो परिमाणको रकम दीपक भट्टको कम्पनीले लाभांशबापत प्राप्त गरेको विषयमा मलाई थाहा छैन। मैले निजलाई सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने र छल्नेसमेतका समक्षमता निर्माण गर्न परिपञ्च मिलाएको छैन। उक्त कार्यमा मेरो कुनै पनि संलग्नता छैन। मेराविरुद्ध लगाइएका आरोपहरू तथ्यहीन, आधारहीन र झुटा हुन्।
सुपारी आयातको सन्दर्भमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मेवार निकाय हो। अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयबाट नै “आवश्यकता तथा औचित्यका आधारमा औद्योगिक प्रयोजनका लागि आवश्यक परिमाणको यकिन तथा सोको दुरुपयोग हुन नसक्ने व्यवस्था सुनिश्चित हुने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गर्न” सहमति दिएको हो। यसबाहेकका अन्य आरोपहरू आधारहीन र झुटा हुन्। सुपारी आयातका लागि सम्बन्धित मन्त्रालयलाई सहमति दिँदा श्रीराम टोवाको प्रा लिलगायत कुनै उत्पादक कम्पनी, फर्म वा व्यक्तिलाई लक्षित गरिएको छैन।
मलाई श्रीराम टोवाको उद्योग प्रालिका विरुद्धमा राजस्व अनुसन्धान विभागमा उजुरी र मुद्दा रहेको जानकारी समेत थिएन। म आफूलाई जानकारी नै नभएको र कानुनविपरीतको विषयमा मैले सहजीकरण गर्ने भन्ने कुरा कल्पनाबाहिरको विषय हो।
नेपाल बिमा प्राधिकरण प्रचलित कानुनबमोजिम स्थापना भई सञ्चालन भएको स्वायत्त निकाय भएकाले अर्थमन्त्रीले उक्त प्राधिकरणलाई निर्देशन दिन मिल्ने कानुनी व्यवस्था छै । हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बिमाहरूको इजाजत दिने अधिकार नेपाल बिमा प्राधिकरणमा निहित रहेको विषय हो। हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बिमाहरूलाई इजाजत दिने प्रक्रियामा मेरो कोही कसैसँग कुनै प्रकारको संलग्नता छैन।
जनकपुर चुरोट कारखानाको लाइसेन्स श्रीराम टोबाको उद्योग प्रा।लि।लाइ दिने भनी ममाथि लगाइएको आरोप सरासर झुटा हो। अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२र१र१५ को निर्णयमा- (क) लामो समयदेखि बन्द रहेका र निरन्तर घाटाम सञ्चालनमा रहेका सार्वजनिक प्रतिष्ठानमा सरकारको व्यय भार बढ्दै गएकाले त्यस्ता प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन गरी नेपाल सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार कम गर्ने प्रयोजनका लागि जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि गरी जम्मा ७ वटा प्रतिष्ठानको सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन ऐन, २०५० को दफा ६ बमोजिम सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने र सोको सुचना नेपाल राजपत्रमा प्रकाशित गर्ने, (ख) खण्ड (क) बमोजिमको कार्य सम्पन्न गरी तीन महिनाभित्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रतिवेदन पेस गर्ने भन्ने उल्लेख छ।
मैले राजस्व अनुसन्धान विभागमा रहेको उजुरी र मुद्दामा सहजीकरण गरी दिने, हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद गर्दाका बखत प्रिमियम विना सेयर खरिद गरिदिने व्यवस्था मिलाउने, जनकपुर चुरोट कारखानाको याक चुरोटको ब्रान्ड श्रीराम टोबाको उद्योगलाई दिने र विभिन्न लघु बिमा कम्पनीहरूको सेयर लिने कार्यमा सहजीकरण गरी दिने समेतका कार्यहरू गर्नका लागि दीपक भट्टसँग मिलेर काम गर्नका लागि २० प्रतिशत सेयर दिएको भन्ने कुराहरू आधारहीन र झुटा हुन्। मैले यसप्रकारका कुनै पनि कार्यहरू गरेको छैन। मैले कुनै पनि गैरकानुनी कार्य गरी कोही कसैलाई सम्पत्ति शुद्धीकरणलगायतका कसुर गर्न सहयोग र सहजीकरण गरी कुनै लाभ लिएको छैन।
मैले पद र प्रभावको दुरुपयोग गरेको छैन। दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्न गराउनमा सहयोग र सहजीकरण गरेको छैन भन्ने समेतका बेहोरा खुलाई लेखाइदिएको छु। मैले सम्पत्ति शुद्धीकरण निवारण प्रयोजनार्थ गठित निर्देशक समितिको संयोजक एवं अर्थमन्त्रीको हैसियतले कानुनी कर्तव्यको उल्लंघन गरी निज दीपक भट्टलाई कसुर गर्न सहयोग र सहजीकरण गरेको छैन भन्ने समेतका बेहोराको बयान।
प्रतिवादी विष्णुप्रसाद पौडेलको थप बयान
श्रीराम टोवाको उद्योग प्रालिका सञ्चालक अध्यक्ष भनीएका रामप्रसाद ढकाल, सञ्चालक श्रवण वेरिवाल नाउँका मानिसलाई म चिन्दिनँ। चुन्नप्रसाद शर्मा, कमलकिशोर मालपानी र टानबहादुर पाण्डेसँग चिनाजाना छ। निजहरू म चुनाव लड्दै आएको निर्वाचन क्षेत्रका व्यक्तिहरू हुन्। निजहरूसँग कुनै व्यक्तिगत लेनदेन, कारोबार, व्यावसायिक साझेदारी छैन। चिनजानका मानिसहरूसँग मोबाइल सम्पर्क छ भन्ने समेतका बेहोराको थप बयान।
Shares

प्रतिक्रिया