ad ad

समाज


पत्रकारलाई कामबाट ननिकाल्न मिडिया मालिकलाई महासंघको चेतावनी

पत्रकारलाई कामबाट ननिकाल्न मिडिया मालिकलाई महासंघको चेतावनी

नेपालखबर
जेठ ३, २०७८ सोमबार ८:७,

नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ।

कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्कासन नगर्न आग्रह गरे।

उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोस्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्काशित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताए।

महासंघले कोभिडको दोस्रो लहरमा निष्काशनमा परेका ९ जनाको पुर्ननियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिए।

त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिन भित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले जानकारी दिए।

उनले भने, ‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । हामीले ९ जनाको पुर्ननियुक्ति गरी समस्या समाधान गरेको दोस्रो लहर सुरु भइसकेपछि । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमुलक कामपनि पत्रकार महासंघले गरिरहेको छ । श्रम समस्यासँग जोडिएका ५ सञ्चारमाध्यमलाई ७ दिनभित्र समस्या समाधान गर्न आग्रह पनि गरेका छौँ।’

अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरुलाई भेटेर विस्थापित भएकालाई पुर्नस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएको उनको भनाइ छ।

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औल्याए।

महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ।

महासचिव पुरीले सरकारलाई बारम्बार आग्रह गरेको बताउँदै अगाडि भने, ‘फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाईकर्मीहरुलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामुलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ।’

पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ। पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा आइसोलेसन बेड निर्माण गरिएको छ।

त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सक सहितको आइशोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भईआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसियु, भेन्टीलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उनले बताए।

महासंघका अनुसार, जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् । २५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराईरहेका छन् । ६ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन्। न्युज एजेन्सी नेपालबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .