ad ad

राजनीति


राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई मत दिने राप्रपा नेताबीच समझदारी

राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई मत दिने राप्रपा नेताबीच समझदारी

नेपालखबर
जेठ १, २०७८ शनिबार ७:४९,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि हुन लागेको निर्वाचनमा नेकपा–एमालेका उम्मेदवार रामबहादुर थापालाई मत दिन राप्रपा नेताहरुबीच समझदारी भएको छ।

त्यसबारे औपचारिक निर्णय नभए पनि आज भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरुको बैठकमा सो समझदारी बनाइएको छलफलमा सहभागी एक नेताले नेपालखबरलाई बताए।

‘औपचारिक निर्णय गरिएको छैन तर एमालेकै उम्मेदवार थापालाई नै भोट दिने भनी तीन अध्यक्षसहितको शीर्ष नेताहरुको बैठकमा समझदारी भएको छ,’ ती नेताले भने, ‘सम्भवतः यो निर्णयमा कुनै परिवर्तन नहोला।’

गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। थापाले माओवादी दल त्याग गरेपछि सो पद रिक्त भएको हो।

सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो।

उनी अहिले एमाले पार्टीमा छन्। एमालेले रिक्त सो पदमा उनैलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नै पार्टीका कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

वागमती प्रदेशमा राप्रपाका दुई प्रदेश सांसद रिता माझी र रिना गुरुङ र धादिङको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन्। उनीहरुको मतभार १ सय ३२ हुन्छ।

यो पनिः
राप्रपाको महाधिवेशन स्थगित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .