ad ad

राजनीति


महन्थ र महतोसँगको भेटपछि देउवाले बोलाए कांग्रेस पदाधिकारीको आकस्मिक बैठक

महन्थ र महतोसँगको भेटपछि देउवाले बोलाए कांग्रेस पदाधिकारीको आकस्मिक बैठक

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ८:१७,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुमतको सरकार बनाउने दाबी पेस गर्ने अन्तिम समयभन्दा ५ घण्टाअघि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

यसअघि आज बिहानै जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेर देउवासँग भेटवार्ता गरेका थिए। उनीहरुबीच के कुरा भयो भन्ने बाहिर नआए पनि सोही भेटका आधारमा आन्तरिक छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतको दाबी छ।

नयाँ बहुमतको सरकार गठनको दाबी पेस गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले सोही विषयमा छलफल गर्नको लागि बैठक बोलाएका सहमहामन्त्री सुनिलबहादुर थापाले जानकारी दिए।

उनका अनुसार अपराह्न ४ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्नेछ।

बिहीबार बिहान देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो देउवा निवासमै पुगेका थिए।

कांग्रेसलाई बहुमतको दाबी गर्न एकीकृत जसपा आवश्यक छ। माओवादी केन्द्रको समर्थन पाए पनि जसपाभित्र दुई धार रहेकोले कांग्रेसले बहुमतको दाबी पेस गर्ने नगर्ने अन्योलबीच पदाधिकारी बैठक बोलाएको हो।

बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षसँग अध्यक्ष केपी ओलीले विवाद मिलाउन गरिरहेको प्रयास र नेपाल पक्ष एकजुट भएको अवस्थामा बहुमतको दाबी गर्न सकिने÷नसकिने बारेमा पनि समीक्षा हुने थापाले बताए।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा मागेको विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्।

दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार दाबी गरेर राष्ट्रपतिसमक्ष निवेदन पेश गर्ने आज बेलुका ९ बजे अन्तिम समय तोकिएको छ।

समयसीमा अगावै निवेदन पेस नभए संविधान ७६ (३) अनुसार संसदमा रहेको सबैभन्दा ठूलो दलको रुपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .