राजनीति


‘कारबाही फिर्ता पार्टी एकताका लागि अन्तिम प्रयास’

‘कारबाही फिर्ता पार्टी एकताका लागि अन्तिम प्रयास’

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ६:५७,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गर्ने स्थायी समितिको निर्णयलाई पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकता कायम राख्नका लागि गरिएको अन्तिम प्रयास भएको बताएको छ।

गत चैतमा वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरिएको थियो।

बिहीबार बसेको एमाले स्थायी समिति बैठकले सो कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

‘यो निर्णय पार्टी एकता कायम राख्नका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्षको तर्फबाट हदैसम्मको लचकता अपनाएर लिइएको कदम हो,’ पार्टी प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालखबरसँग भने, ‘आफ्नै सरकार ढाल्नका लागि सक्रिय रहँदा पनि प्रधानमन्त्रीले पार्टी एकताका लागि यो तहको लचकता देखाउनुभएको हो।’

नेपाल पक्षका नेताहरुले आजै सामूहिक राजीनामा दिने अन्तिम तयारी गरिरहेका बेला पार्टीले सो निर्णय गरेको हो।

बैशाख २७ गते प्रधानमन्त्रीमाथि संसदको विश्वास छ भन्ने प्रस्तावमाथि प्रतिनिधि सभामा मतदान हुँदा नेपाल पक्षका २८ जना सांसद अनुपस्थित रहेका थिए। सो प्रस्तावमा बहुमत नपुगेपछि प्रधानमन्त्री पदमुक्त भएका हुन्।

यो पनि- एमाले स्थायी समिति: माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता

यो निर्णयसँगै पार्टीका दुवै पक्षबीच सहमति जुटाउने अन्तिम कसरत जारी छ।

कारबाही फुकुवाको निर्णय पनि दुवै पक्षबीच भएको समझदारीका आधारमा गरिएको हुनसक्ने अनुमान गरिएको छ।

आज बिहीबार बिहान समेत अर्थमन्त्री विष्णु पौडेल नेता नेपालको निवासमै पुगेर सहमतिको प्रयास गरेका थिए।

आज बिहीबार नै अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी हुने सम्भावना रहेको बताइएको छ।

पछिल्लो निर्णयपछि नेपाल पक्षको प्रतिक्रियाबारे अहिले नै निष्कर्ष पुग्ने अवस्था नरहेको ज्ञवालीले बताए।

‘उहाँहरुले कसरी रेस्पोन्स गर्नुहुन्छ अहिले नै ठ्याक्कै भन्नसक्ने अवस्था छैन,’ ज्ञवालीले भने।

नेपाल पक्षका नेता योगेश भट्टराईले भने कारबाही फुकुवा गर्ने निर्णय सकारात्मक भएको बताउँदै अब सहमति जुटाउनुपर्ने बताएका छन्।

यो पनिः
चार नेताको कारबाही फिर्तापछि योगेश भट्टराईको प्रतिक्रिया– अब सहमति गर्नुपर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .