निर्वाचन आयोगले जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ।
आयोगले निर्वाचन सञ्चालनका लागि ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८’ तयार गरेको जनाएको छ।
उक्त कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जनाएको छ।
गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रबाट निर्वाचित सांसद रामबहादुर थापा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई सांसद पदबाट हटाएको थियो। रिक्त स्थानमा यही जेठ ६ गते निर्वाचन हुँदै छ।
निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा मंगलबार मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको छ।

प्रतिक्रिया