दुई हप्तासम्म पनि सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई निलम्बन गर्न सिफारिस गरेको छ।
खड्का लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएर आएका हुन्।
एमालेको केन्द्रीय सदस्य बनेपछि उनले दल परिवर्तन गरेको सूचनासहित निलम्बन गर्न माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा सिफारिस पत्र दर्ता गरेको राष्ट्रिय सभामा माओवादीका संसदीय दलका नेता रहेका दीननाथ शर्माले जानकारी दिए।
‘उहाँलाई स्पष्टीकरण सोधिएको थियो तर २ हप्ता कुर्दा पनि त्यसको जवाफ नदिई एमालेको केन्द्रीय समिति बैठकमा सहभागी भएको पाइयो अनि निलम्बन गर्न संसद सचिवालयमा जानकारी गराएका छौँ’, शर्माले नेपालखबरसँग भने।
यसअघि एमाले प्रवेश गर्ने रामबहादुर थापालाई पनि माओवादीले दलबाट हटाएको थियो।
निर्वाचन आयोगले थापाको रिक्त स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्न मिति तोकिसकेको छ।

Shares

प्रतिक्रिया