नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले झुठो कुरा बोलेको बताएका छन्।
आफूलगायत ९० जना नेतालाई एउटा बैठकमा बोलाएको तर फोन नलागेको भनेर अध्यक्ष ओलीले जाली कुरा गरेको नेता नेपालले आरोप लगाए।
शुक्रबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले बुधबार र विहीबार होटेल मेरियटमा भएको छलफलको प्रसंग सुनाउँदै ओलीलाई ‘बैठकमा किन फोन नगरेको’ भनेर प्रश्न गर्दा फोन नलागेको जवाफ दिएको सुनाए ।
‘जेठ २ गतेको अवस्थामा फर्कौं, पार्टीलाई एकताबद्ध गराऔं, क-कसका थप्नुपर्छ त्यहीँ थपेर जाऔं। त्यही बसेर छलफल गरौं।रामबहादुर लगायत थपिएर के भयो हामी पनि दुईचारजना थपिदिउला’ ओलीलाई दिएको सुझाव उधृत गर्दै नेपालले भने।
‘हुँदैन, जे निर्णय भएको छ। तपाईँहरु किन आउनुभएन?’ ओलीले प्रश्न गरे।
‘अनि मैले भनेँ, तपाईँले बोलाउनुभयो कसैलाई?’ नेता नेपालले ओलीलाई सोधे।
‘बोलाएको हो, तपाईँको मोबाइल बिग्रेको थियो कि?’ ओलीले जवाफ दिएको नेता नेपालले सुनाए।
‘सबैको मोबाइल बिग्रन्छ? हामी ९०, ९५ जनाको मोबाइल बिग्रेको रहेछ, एनटीसीले बिगारदिएको होला,’ नेपालले ओलीसँग भने।
‘यस्तो जाली कुरा गरेर ७ गते ओलीले आह्वान गर्नुभयो’ नेता नेपालले भने।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग बिहीबार वार्ता गरेर कुरा नमिलेपछि बिहीबार नै नेता नेपाल जनकपुर गएका हुन्।
Shares

प्रतिक्रिया