पाकिस्तानको सहर क्वेटास्थित महसुर सेरेना होटलमा विस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बीबीसीका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई निशाना गरेर विस्फोट गराइएको हुन सक्छ। किनकि त्यतिबेला चिनियाँ राजदूत क्वेटामै थिए।
पाकिस्तानको क्वेटा सहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमानजिक पर्छ।
तर हमलाका बेला चिनियाँ राजदूत त्यही होटलमा थिएनन्। विस्फोट होटलको पार्किङ स्थलमा भएको थियो।
हमालाको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ।
पाकिस्तानका गृहमन्त्री शेख रासिद अहमदले एआरवाई न्युज टीभीलाई बताएअनुसार होटल परिसरमा राखिएको कार विस्फोट भएको हो, जुन कार विस्फोटक पदार्थले भरिएको थियो।
पाकिस्तानको बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी सक्रिय छन्, जो पाकिस्तानबाट स्वतन्त्र बन्न चाहन्छन्। त्यहाँ चीनले ठूलो परियोजना सञ्चालन गरेको छ। पृथकतावादी त्यसको विरोध गरिरहेका छन्।

प्रतिक्रिया