ad ad

राजनीति


चीनले दाबी गर्ने सागरमा फिलिपिन्सले सैन्य जहाज पठाउने, डुटेर्तेले भनेः रक्तपात निम्तिनेछ

चीनले दाबी गर्ने सागरमा फिलिपिन्सले सैन्य जहाज पठाउने, डुटेर्तेले भनेः रक्तपात निम्तिनेछ

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ९:६,

दक्षिण चीन सागरको तेल र खनिजमा दाबी गर्नको लागि आफ्ना सैन्य जहाजहरु त्यहाँ जाने डुटेर्तेले सोमबार बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

तर विज्ञहरुका अनुसार फिलिपिन्सलाई दक्षिण चीन सागरमा उत्खनन् गर्न सजिलो भने छैन, किनभने दक्षिण चीन सागरको ९० प्रतिशत जलक्षेत्रमा चीनको दाबी छ।

डुटेर्ते आफैंले सोमबार बेइजिङलाई चुनौती दिँदै आफ्ना सैन्य जहाज त्यहाँ पुगे द्वन्द्व निश्चित भएको टेलिभिजन अन्तर्वार्तामा बताएका छन्।

उनले भनेका छन्,‘यदि हामी त्यहाँ आफ्नो क्षेत्राधिकार दाबी गर्न जान्छौं भने यसले रक्तपात निम्त्याउनेछ।’

फिलिपिन्सको समुद्री क्षेत्रनजिक चीनका सयौं माछा मार्ने डुंगाहरु आएपछि पहिलोपटक डुटेर्तेले भनेका छन्,‘मलाई अब माछा मार्नुमा चासो छैन। मलाई लाग्दैन कि त्यहाँ झगडा गर्न पर्याप्त माछा छ।’

‘चिनियाँ सेना नजिक भविष्यमा पाँच तटरक्षकको जहाज पठाउनेछौं र त्यसले चिनियाँ जहाजसँग खेल्नेछ। त्यसपछि हेरौं को छिटो छ’ उनले भने,‘हामी त्यहाँ तेल र खनिज उत्खनन् गर्नेछौं। हाम्रो क्षेत्रको दाबी गर्नेछौं।’

यदी चीनले पनि त्यहाँ तेलको आकाँक्षा राखे र उत्खनन् सुरुवात गरे आफूले चीनलाई पहिले गरिएका सम्झौताबारे प्रश्न गर्ने डुटेर्तेको भनाइ छ।

‘चीनले सम्झौताबारे केही नबोले हामीले पनि त्यहाँ तेल प्राप्त गर्न काम गर्नेछौं, यदी चीनले तेल पाए त्यसपछि हामीले प्रतिक्रिया जनाउनेछौं’ उनले भनेका छन्।

दुई वर्ष अगाडि मात्र डुटेर्तेले दक्षिण चीन सागरको बारेमा भनेका थिए,‘जब चीनका राष्ट्रपति सी चिनफिङले ‘म यहाँ माछा मार्छु’ भन्छन् उनलाई कसले रोक्ने?’

एएफपीसँग उनले भनेका थिए,‘यदी मैले मेरा नौसेना चिनियाँ माझीलाई हटाउन पठाए भने मलाई थाहा छ उनीहरु कोही जीवित फर्किने छैनन्।’

पहिले चीनभन्दा फिलिपिन्स कमजोर भएको बताउने डुटेर्तेले यतिबेला भने चीनलाई चुनौती दिन आफ्नो सैन्य जहाजहरु दक्षिण चीन सागरमा पठाउने निर्णय गरेका हुन्।

अमेरिकाले पनि दक्षिण चीन सागरमा चिनियाँ रबैया नमान्ने बताउँदै आएको छ। अमेरिकाले सहयोग गर्ने विषयमा पनि डुटेर्तेले भनेका छन्,‘यदी द्वन्द्व हामी आफैंले निम्त्याऔं भने अमेरिका हामीलाई सहयोग गर्न आउँदैन।’

पछिल्लो समय अमेरिकाले खुला र सुरक्षित इन्डोप्यासिफिक क्षेत्रको लागि भन्दै चीनले दाबी गर्ने दक्षिण चीन सागरमा आफ्ना सेनाहरु पठाउने गरेको छ।

दक्षिण चीन सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गको रुपमा परिचित छ। वर्षेनी खरबौं डलरको कारोबार हुने यस क्षेत्र सबैको रणनीतिक चासोको रुपमा रहँदै आएको छ।

चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्दछ। त्यसकारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

हालै आफ्नो जलक्षेत्रमा चिनियाँ माछा मार्ने दुई सयभन्दा बढी डुंगा देखा परेपछि फिलिपिन्सले दक्षिण चीन सागरमा तेल र खनिज उत्खनन् गर्ने तथा चीनको खतराको पनि सामना गर्ने मनसाय बनाएको हो। एससीएमपी

यो पनिः आफ्नो समुद्री क्षेत्रमा दुई सय चिनियाँ डुंगा घुसेको भन्दै फिलिपिन्स बन्यो रुष्ट

फिलिपिन्सको आरोपः बेइजिङ दक्षिण चीन सागरको धेरै क्षेत्र कब्जा गर्न चाहन्छ

चीनले दाबी गर्ने सागरमा फिलिपिन्स र अमेरिकाद्वारा युद्ध अभ्यास गर्ने घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .