परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएको सीमा समस्या लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताएका हुन्।
इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमा लगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका समस्याहरु, इतिहासले नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन्। सीमा लगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरु छन् जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं। पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ्ग भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन।’
नेपालले भारतसँग भएका कुनैपनि समस्याहरु समाधान गर्न सकिँदैन भन्ने नठानेको पनि स्पष्ट पारे। नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने बताए।
उनले भने, ‘भारतसँग कुनैपनि समस्या छन्, तिनिहरुलाई छलफलद्वारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनैपनि विषय छन् भन्ने हामी ठान्दैनौं। किनभने नेपाल र भारत प्रतिस्पर्धी होइनन्। नेपाल र भारत मित्रहरु हुन्। प्रतिस्पर्धीहरुकाबीचमा समस्या समाधान गर्न गाह्रो हुन्छ। मित्रहरुकाबीचमा समस्या छन् भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन।’
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड विरुद्धको लडाईमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताए। नेपालका लागि भारतले कोभिड विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको बताए यस्तै नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरुको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि जानकारी दिए।
उनले भने, ‘कोभिड विरुद्धको हाम्रो लडाईमा भारतले विभिन्न ढङ्गले सहयोग पु¥याउँदै आएको छ। अरु विभिन्न खालका लजिस्टिकहरु, मेडिकल सामग्रीहरु, स्वास्थ्य सामग्रीहरुका अलवा हामीले राम्रो सहयोग पायौं भारतबाट। भारतमै उत्पादित कोभिसिल्ड १० लाख डोज भारतले हामीलाई हस्तान्तरण गर्यो र हामीले दक्षिण एशियाकै भारतसँगसँगै आफ्ना नागरिकहरुलाई खोप उपलब्ध गराउन सक्यौं। त्यो अभियान अहिले पनि निरन्तर जारी छ। दुई देशको बीचमा १८ सय किलोमिटर लामो खुला सिमाना छ। खुला सिमानाबाट नागरिकहरुको आवतजावत तीब्र हुने हुनाले दुवै देशले मिलेर मात्रै यो महामारीको विरुद्ध हामी अगाडि बढ्न सक्छौ। यस सन्दर्भमा दुवै देशको बीचमा निरन्तर संवाद पनि भइराखेको छ र कसरी यो लडाई जसले हामीलाई ठूलो चुनौति खडा गरेको छ। यो चुनौतिको सामना हामी कसरी मिलेर गर्न सक्छौं भन्ने बारेमा हामीले छलफलहरु गरिरहेका छौं। सहकार्यहरु गरिराखेका छौं।’
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए। भनाई र भाषणमा मात्रै दुई देशबीचको सम्बन्धलाई सिमित नगरी व्यवहारिक रुपमा लागू गर्नुपर्ने बताए। जनताको विश्वास टुटन नदिन पनि दुवै देशको बीचमा भएका समस्यालाई छिट्टै हल गर्नुपर्नेमा जोड दिए।
मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विकासको मोडल नेपालका लागि सबैभन्दा राम्रो भएको पनि बताए। जसका कारण अहिले देशमा विकास निर्माणका कार्यक्रमहरु अगाडि बढेको दावी पनि गरे।

प्रतिक्रिया