राजनीति


अफगानिस्तानको तालिबान विद्रोहीले भन्योः अमेरिका हामीसँग हार्‍यो

अफगानिस्तानको तालिबान विद्रोहीले भन्योः अमेरिका हामीसँग हार्‍यो

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ८:५०,

तालिबान नियन्त्रित बाल्ख जिल्लाका छाया मेयर हाजी हिकमतले बीबीसीसँग भने,‘हामीले युद्ध जित्यौं अमेरिका हार्‍यो।’

‘हामी जे गर्न पनि तयार छौं, हामी शान्तिको लागि पनि र मुस्लिम विरोधीविरुद्ध लड्न पनि पुरै तयार छौं’ उनले भने।

गतवर्ष पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग तालिबानले शान्तिवार्ता गरेको थियो।

त्यसबेलादेखि तालिबानले विदेशी सेनालाई आक्रमण गरेको छैन। तर सरकारी सेनालाई भने तालिबानले निशानामा पार्दै आएको छ।

अमेरिकाले तालिबान र आफगान सरकारबीच वार्ताको लागि मध्यस्थकर्ताको भूमिका खेलेको थियो।

यद्यपी सरकार र तालिबानबीच सहमति हुन सकेको छैन। सरकारले तालिबान स्वतन्त्र पार्टीको रुपमा राजनीतिमा आउनुपर्छ भन्छ।

तालिबानले बारम्बार अफगान सरकार अमेरिका र पश्चिमा देशको कठपुतली भएको आरोप लगाउँदै आएको छ।

हाजी हिकमतका अनुसार तालिबानको माग छ,‘इस्लामिक कानुन ‘सारिया’अनुसार काम गर्ने मुस्लिम सरकार हाम्रो चाहना हो। जबसम्म माग पुरा हुँदैन हामी मुस्लिमको हितका लागि र मुस्लिम विरोधीसँग लडिरहन्छौं।’

अमेरिकी सेनाहरु फर्किने भएपछि अमेरिका र तालिबानबीचको २० वर्षयताको युद्ध पनि समाप्त हुने भएको छ।

अफगानयुद्धको पृष्ठभूमि

सन् २००१ सेप्टेम्बर ११ मा जब अमेरिकामा आतंकवादी आक्रमण भयो त्यसको एक महिनापछि अमेरिकाले तालिबानविरुद्ध अफगानिस्तानमा आक्रमण थालेको थियो।

अमेरिकामा आक्रमण गर्ने ओसामा बिन लादेनलाई सुम्पन अस्वीकार गरेपछि अमेरिकाले आक्रमण थालेको थियो।

त्यसबेला तालिबान समूह अफगानिस्तानको सत्तामा थियो। अमेरिकासँग अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरु लागेपछि तालिबान सत्ताबाट तत्काल हटाइएको थियो।

त्यसयता तालिबानले विद्रोहीको रुपमा अफगान सरकारलाई निस्क्रिय बनाउने हिसाबले आक्रमण गर्दै आएको छ।

अफगान सरकार अमेरिकाको कठपुतली बनेको तालिबानको आरोप छ। अमेरिकी सेना आफ्नो देशबाट फर्किए शान्ति स्थापना हुने उसको भनाइ छ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय गठबन्धनको तालिबानविरुद्ध आक्रमण अभियान समाप्त भएको थियो। तर अमेरिकाले अफगान सरकारलाई साथ दिँदै तालिबानविरुद्ध आक्रमण गरिरह्यो।

यद्यपी तालिबानले आफ्नो पकडलाई थप मजबुत बनाउँदै आएको छ। बीबीसीका अनुसार तालिबानले सन् २०१८ मा अफगातिस्नातको ७० प्रतिशत स्थानमा सक्रिय रुपमा गतिविधि सन्चालन गरिरहेका थिए।

अफगान युद्धमा अन्तर्राष्ट्रिय गठबन्धन नेटोका ३५ सय सेनाको मृत्यु भएको छ। तीमध्ये २३ सय अमेरिकी सेना हुन्।

यस युद्धमा अफगानका सर्वसाधारण, अफगान सेना र तालिबान लडाकु कति मरे भनेर यकिन तथ्यांक छैन। सन् २०१९ मा संयुक्त राष्ट्रसंघले अफगान युद्धमा ३२ हजार सर्वसाधारणको ज्यान गएको बताएको थियो।

ब्राउन युनिभर्सिटीको अनुसन्धानअनुसार अफगान युद्धमा ५८ हजार सुरक्षाकर्मी मारिँदा ४२ हजार तालिबान लडाकु मारिएका छन्।

सन् २००१ यता सुरु भएको अफगान गृहयुद्धमा अमेरिकाले तालिबानसँग लड्न अरबौं डलर खर्च गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा चुनाबी प्रचार गरिरहँदा उनले अफगानिस्तानमा अमेरिकी युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।

यो पनिः अफगानिस्तानमा तैनाथ सबै अमेरिकी सेना ११ सेप्टेम्बरसम्ममा स्वदेश फर्काइँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .