राजनीति


लकडाउन धान्न नसकिने भन्दै कांग्रेसले सरकारलाई दियो ८ वटा कामको सूची

लकडाउन धान्न नसकिने भन्दै कांग्रेसले सरकारलाई दियो ८ वटा कामको सूची

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १०:४९,

नेपाली कांग्रेसले कोरोना महामारीको अवस्था फेरि भयावह हुन लागेको भन्दै त्यसप्रति गम्भीर चिन्ता प्रकट गरेको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड–१९ संक्रमण रोक्न तत्काल ८ वटा काम गर्न आग्रह गरेको छ।

उसले गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउने र सीमा नाकाबाट आउनेलाई व्यवस्थित चेक जाँच र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ।

‘कन्टयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पीसीआर परीक्षणको दायरालाई व्यापक गरियोस्,’ मंगलबार पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड—१९ विरुद्ध आम जनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस्। खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस्।’

स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर त्यसको कार्यान्वयन नगरेको र त्यसले गर्दा स्वास्थ्यकर्मीको मनोवल खस्किएको कांग्रेसको भनाइ छ।

‘स्वास्थ्यकर्मीको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस्, साथै अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरियोस्,’ उसले भनेको छ।

देशले फेरि लकडाउनको अवस्था धान्न नसक्ने कांग्रेसको ठहर छ।

‘यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समितिका संयोजक समेत रहेका महतले भनेका छन्, ‘साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं।’

यो पनिः अब लकडाउन भए अनौपचारिक क्षेत्रका श्रमिकमा भोकमरी, निजी क्षेत्र र सरकार पर्नेछन् संकटमा 

कांग्रेसले देश विदेशमा रहेका नेपालीलाई अनिवार्य मास्क लगाउने, सेनिटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाईमा ध्यान राख्ने र भौतिक दूरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध पनि गरेको छ।

विज्ञप्तिको पूर्णपाठ

कोभिड—१९ अनुगमन समिति
चैत्र ३१, २०७७
कोभिड—१९ को कू–व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरीदमा भएको व्यापक भष्ट्राचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको हो। कोभिड—१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुन सक्ने र विश्वका अन्य देशहरुमा देखिएका कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना प्रति सरकार उदासिन भएका कारण अहिले फेरि कोभिड—१९ को संक्रमण फैलदो छ। अहिले संक्रमितको संख्या ह्वातै बढेको छ भने गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने विरामीहरुको संख्या र मृतकको संख्या पनि बढ्दो छ। भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई नेपाली कांग्रेसले गम्भीरताका साथ लिएको छ।

नेपाली कांग्रेस कोभिड—१९ संक्रमण रोक्न आवश्यक निम्न लिखित काम तत्काल अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछ।
१. गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस्।

२. अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस्।

यो पनि : विदेशबाट फर्किने सीधै पुग्छन् घर, १० दिने क्वारेन्टिन ‘रिङटोन’ मा मात्र सिमित

३. कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पीसीआरको परिक्षण दायरालाई व्यापक गरियोस्।

४. कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस्। खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस्।

५. स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ। स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस्। साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस्।

६. पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं।

७. देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं।

८. समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं।

अन्तमा, कोभिडको कारण २०७८ संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई अनिवार्य मास्क लगाउने, सेनेटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाईमा ध्यान राख्ने र भौतिक दुरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौं।

जय नेपाल !

डा. प्रकाशशरण महत
सह–महामन्त्री
एवं
संयोजक
कोभिड–१९ अनुगमन समिति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad