गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्।
बुधबार दिउँसो आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन्।
कानुनमन्त्री चुमानले आफूहरुले पार्टीको निर्देशनबमोजिम राजीनामा दिएको बताए। उनले अहिले राजीनामा दिए पनि फेरि सहकार्यको बाटो खुल्ने अपेक्षा समेत व्यक्त गरे।
‘पार्टीको निर्णय अनुसार हामीले राजीनामा दिएका हौँ’, राजीनामापछि मन्त्री चुमानले भने ‘हामी फेरि पनि सहकार्यको वातावरण बनोस् भन्ने चाहन्छौँ।’
राजीनामा पत्र बुझेपछि मुख्यमन्त्री गुरुङले आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको जवाफ दिएका थिए।
उनले सरकारमा रहँदा माओवादीका मन्त्रीहरुले राम्रो काम गरेको र कहिल्यै रिसाउनुपर्ने परिस्थिति नबनेको भन्दै दुवै मन्त्रीको प्रशंसा गरेका थिए।
माओवादी केन्द्र सरकारबाट बाहिरए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
‘मन्त्रीहरुले राजीनामा दिए पनि सरकारले दिएको समर्थन भने तत्काल फिर्ता लिँदैनौँ’, माओवादी संसदीय दलका नेता रामजी बरालले नेपालखबरसँग भने।
माओवादीले समर्थन फिर्ता नलिएपछि मुख्यमनत्री गुरुङ सरकार अल्पमतमा परेको छैन। प्रदेश सरकारमा एमालेका २८, कांग्र्रेसका १५, माओवादीका १२, राजमोका ३, र जनता समाजवादीका २ सांसद छन्।

प्रतिक्रिया