आफ्नो दल त्याग गर्दै एमाले ओली समूहमा प्रवेश गरेपछि माओवादी केन्द्रले ४ मन्त्रीलाई प्रतिनिधि सभाको सदस्य (सांसद) पदबाट हटाउन मंगलबार संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेको छ।
माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अर्घाखाँची–१ का टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीलाई कारबाही गरेका हुन्।
रायमाझी ऊर्जा, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्। उनीहरू चारै जना निर्वाचित सांसद हुन्।
उनीहरू पार्टी (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गरेकाले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअन्तर्गत प्रक्रिया अघि बढाउन माओवादी केन्द्रले संसद् सचिवालयलाई पत्राचार गरेको हो।
तर एमालेमै प्रवेश गरेका अझ ओली समूहद्वारा यस पार्टीको बागमती प्रदेशको इन्चार्जसमेत घोषित गृहमन्त्री रामबहादुर थापा बादललाई भने माओवादी केन्द्रले कारबाही गरिसकेको छैन।
उनलाईचाहिँ किन राखियो त बाँकी?
माओवादी केन्द्रको स्रोतका अनुसार गृहमन्त्री थापाविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको छ। थापा राष्ट्रिय सभाको सदस्य भएकाले उनलाई छुट्टै पत्र पठाउने तयारी गरिएको हो।
यस्तो छ पृष्ठभूमि
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) विभाजित भयो– ओली समूह र प्रचण्ड–नेपाल पक्षमा। ओली समूह आफ्नो कदमको प्रतिरक्षाका लागि देश दौडाहामा लाग्यो भने संसद् विघटन असंवैधानिक कदम भन्दै प्रचण्ड–नेपाल पक्ष सडक आन्दोलनमै उत्रियो। यस क्रममा दुई समूहबीच आफू आधिकारिक नेकपा पक्ष भएको दाबीसहित निर्वाचन आयोग धाउने प्रतिस्पर्धा पनि चलिरहेको थियो।
यहीबीच संसद् विघटनविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले गत फागुन ११ गते ओलीको निर्णय बदर गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनायो।
जसले प्रचण्ड–नेपाल पक्षलाई हौस्यायो भने ओली समूहलाई हच्क्यायो। तर पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले नै उनकै नेकपा वैधानिक, एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भन्दै गत फागुन २५ गते फैसला गर्याे। सँगै पहिलेकै एमाले र माओवादी केन्द्र पुनर्स्थापना पनि गर्याे।
त्यसपछि नेकपाका नेताहरू आआफ्ना पुरानै दलमा फर्किने क्रममा पहिले ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेता एमाले ओली समूहमै रहे। जसलाई प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेको केन्द्रीय सदस्यसमेत बनाइसकेका छन्।
एमाले पुनर्स्थापना भएपछि फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनय गर्नाका साथै नेकपा हुँदा प्रचण्डसँग मिलेका माधवकुमार नेपाल–झलनाख खनाल पक्षका नेताका सबै पद र जिम्मेवारी खोस्ने निर्णय पनि गरे।
त्यसयता खनाल–नेपाल पक्षले छुट्टै बैठक/भेला गर्दै समानान्तर कमिटी गठन गरिरहेको छ भने माओवादी केन्द्रले भने एमालेमा लागेका आफ्ना नेतालाई धमाधम कारबाही गरिरहेको छ।
हाल ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका ७ नेता मन्त्री बनेका छन् । तीमध्ये खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा लामा सांसद होइनन्।
उता एमाले अध्यक्ष ओलीले पनि झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै ६ महिनाका लागि एमालेको साधारण सदस्यतासमेत नरहने गरी निलम्बन गरेका छन्।
यो पनि : पद गुमेपछि प्रभु साहको आक्रोश : प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा
Shares

प्रतिक्रिया