राजनीति


सांसद संग्रौलाले उठाइन् ७० करोडको अडियो डिल र ओम्नी प्रकरण

सांसद संग्रौलाले उठाइन् ७० करोडको अडियो डिल र ओम्नी प्रकरण

नेपालखबर
चैत २३, २०७७ सोमबार ९:१२,

सांसद डा. डिला संग्रौलाले यो सरकार र भ्रष्टाचार एकअर्काका परिपूरकजस्तै भएको दाबी गरेकी छन्।

उनले यो सरकारका पालामा ठूलाठूला भ्रष्टाचार प्रकरण सतहमा आएको बताएकी छन्।

‘धेरै टाढा नजाउँ तत्कालीन सूचना तथा सञ्चार मन्त्रीको ७० करोडको अडियो डिल प्रकरण बाहिरियो, राजीनामा आयो, कारवाही भएन,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन्, ‘कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारवाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ।’

त्यस्तै हालै वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौं रकम दिन आएको भनी मन्त्री स्वयंले भनेको प्रसंग उनले कोट्याइन्।

‘कस्तो लज्जास्पद! त्यसैले इतिहासमा यो सरकार सबैभन्दा भ्रष्टाचारी सरकार हो। तर प्रधानमन्त्री भष्ट्राचारमा शून्य सहनशिलता भन्न छोडदैनन्,’ उनको जिकिर थियो।

सांसद गोकुल बाँस्कोटाले सोहि बैठकमा आफ्नो धारणा राखेलगत्तै संग्रौलाले उनीसँग सम्बन्धित प्रकरणको समेत उठान गरेकी हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. संग्रौलाले संसद बैठकमा राखेको धारणा विस्तृतमा:

१. लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशील र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

२. प्रधानमन्त्रीको हठवादले यही पुस ५ गते संसद्को विघटन, कानूनी व्यवस्था र प्रचलित मूल्य–मान्यता भत्किएका छन् । सत्ता टिकाउन जे जस्तो कूकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भैसकेको छ । आज उनलाई प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ । नेपालको इतिहासमा पहिलो पटक विभिन्न बहानामा संसद्लाई निष्कृय र विजनेश विहीन बनाइँदै छ । सर्वोच्चले संसद्को पुनःस्थापना गरे पश्चात उनले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन् । त्यसैले आज म संसद्बाटै उनको राजीनामा माग गर्दछु ।

३. भ्रष्टाचार र सरकार एकअर्काका परिपूरक भएका छन् । धेरै टाढा नजाउँ तत्कालीन सूचना तथा सञ्चार मन्त्रीको ७० करोडको अडियो डिल प्रकरण बाहिरियो । राजीनामा आयो । कारवाही भएन । कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारवाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ । यस्तै भर्खरै वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौं रकम दिन आए आफै भन्छन् । कस्तो लज्जास्पद ! त्यसैले इतिहासमा यो सरकार सबैभन्दा भष्ट्राचारी सरकार हो । तर प्रधानमन्त्री भष्ट्राचारमा शून्य सहनशिलता भन्न छोडदैनन् ।

४. कोरोनाको महामारीले एक वर्षयता विश्वलाई नै लखेटिरहेको छ । युरोपका कतिपय देशमा कोरोनाको तेस्रो लहर चलि रहेको छ भने उता भारतमा बढ्दै गएको कोरोनाको संक्रमणको कारण नेपालमा भारतबाट आउने मानिसमा संक्रमण दर बढ्दै गएको छ । भारतीय सीमावर्ती क्षेत्रमा कोरोनाको कारण विद्यालय जोखिमयुक्त छन् । नेपालमा पहिलो पटक कोरोनाको खोप लगाएकाले पनि दोस्रो डोज पाएका छैनन् । कोरोनाको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा जुट्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।

५. जापान जानका लागि सीओइ लेटर पनि आइसकेको, विश्विवद्यालयले मागेको शुल्क पनि पठाइसकेको र आफ्नो विश्वविद्यलयमा पढ्नका लागि योग्यता प्रमाणपत्र पनि आएका थुप्रै नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् । म सम्माननीय सभामुखमार्फत जापानसरकारसँग कुटनीतिक वार्ता गरी उनीहरुलाई चाँडो भन्दा चाँडो उच्च शिक्षा हासिल गर्ने बातावरण बनाउन माग गर्दछु।

६. प्रधानमन्त्रीले डीपीआर नै नभएका सडक पूर्वतयारीबिना बालुवाटारबाट शिलान्यास गर्नु, एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हाले सरह हो । सभामुख महोदय, जनताले आधारभूत स्वास्थ्य, शिक्षा, राम्ररी खान पनि पाइरहेका छैनन् । ठाउँ ठाउँमा लागेको डढेलोले वातावरण प्रदुषित भएको छ । जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्न गएको छ । यसको रोकथाम एवं न्यूनिकरणको लागि सरकारको ध्यानकर्षण गराउँदछु ।

७. मेलम्चीको खानेपानी सन्त नेता कृष्णप्रसाद भट्टराईको योजना र सपना थियो । जुन साकार आज भएको छ । उनीप्रति सबैले सम्मान प्रकट गर्नु नै पर्दछ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad