ad ad

राजनीति


असमान र अपमानजनक सन्धिबाट देशलाई मुक्त गरौँः रावल

असमान र अपमानजनक सन्धिबाट देशलाई मुक्त गरौँः रावल

नेपालखबर
साउन २८, २०७६ मंगलबार १३:३४,

सत्तारुढ नेकपाका नेता तथा प्रतिनिधिसभाका सांसद भीम बहादुर रावलले असमान र अपमानजनक सन्धिबाट मुलुकलाई मुक्त गर्न सरकारले कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले शक्तिशाली सरकारले विगतमा भएका गलत सम्झौताबाट मुलुकलाई मुक्त राख्नुपर्ने धारणा राखेका हुन्। उनले नेपालको सार्वभौम सत्तामा आँच पुर्याउने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने तर्क गरे।

उनले भने, ‘नेपाली युवा युवतीलाई विदेशी सेना भर्ती गरिने नेपालको सार्वभौमसत्तामा आंच पुर्याउने निरंकुश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गरिनुपर्छ। भुतपुर्व गोर्खाका न्यायोचित आवाज सुनिनुपर्छ र त्यसलाई सम्बोधन गरिनुपर्छ।’

उनले नेपाल कुनै पनि शक्ति राष्ट्रसंघको संयुक्त सैनिक अभ्यासमा सहभागी हुन नहुने तर्फ सरकारलाई सचेत गराए। उनले भने, ‘कुनै पनि शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले अनुमति दिँदैन। त्यस त्यसप्रकारको गठजोडमा लाग्नु नेपालको हितमा पनि छैन। देश भित्र र बाहिर संयुक्त बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ। प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सिमित रहेर सुरक्षा निकायकाबीच तालिम र अनुभवको आदान प्रदान गर्न सकिने भएतापनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुईपक्षीय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुँदैन।’

उनले छिमेकी देश र अन्तर्राष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर तात्कालिन राजनीतिक परिस्थितिलाई गम्भीर विश्लेषण गर्दै राष्ट्रहितका पक्षमा दृढताका साथ उभिनुपर्नेमा जोड दिए। शान्ति प्रक्रियाका बाँकी काम पुरा नगर्न विदेशी हस्तक्षेप बढ्न सक्ने भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिनको बाँकी काम अबिलम्ब पुरा गर्न सरकारको ध्यानाकर्षण गराए।

संसदीय समितिका सदस्यहरुबाट राष्ट्रिय परिचय पत्रमा राखिएका जानकारी सार्वजनिक पहुँचमा पुग्ने आशंका व्यक्त भईरहेका बेला सांसद रावलले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, कार, भन्सारको महसुल संकलन जस्ता संवेदनशील तथ्यांकहरुको अभिलेख विदेशी सर्भरमा राख्न दिन नहुने तर्फ सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .