राजनीति


नेपाल पक्षको आरोपः ओलीले बाह्य शक्तिसँग साठगाँठ गरी देशलाई कमजोर पारे (पूर्णपाठ)

नेपाल पक्षको आरोपः ओलीले बाह्य शक्तिसँग साठगाँठ गरी देशलाई कमजोर पारे (पूर्णपाठ)

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १४:५४,

नेकपा–एमालेको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बाह्य शक्तिसँग साठगाँठ गरी देशलाई कमजोर पार्ने काम गरेको आरोप लगाएको छ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले प्रधानमन्त्री ओलीलाई सो आरोप लगाएको हो।

प्रधानमन्त्री ओलीको कार्यकालमा भ्रष्टाचार र अनियमित कार्यहरुको चांग लाग्न थालेको, देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरु भत्किन थालेपछि आफूहरुले त्यसको विरोध गरेको सो समूहको जिकिर छ।

‘त्यसो नगर्न पार्टीका बैठकहरुमा उहाँलाई पटक–पटक सचेत गराइयो तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी वाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो,’ सो पक्षका ११ जना स्थायी समिति सदस्यहरुद्वारा शुक्रबारको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ।

पार्टीका वरिष्ठ नेताद्वय खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, तीन सचिव भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराई र स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेको बैठक बसी सो धारणा सार्वजनिक गरेका हुन्।

बैठकपछि जारी वक्तव्यको पूर्णपाठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)–नेकपा (एमाले), को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ।

राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास भइरहेको छ। आफैले गोप्य सम्झौताका साथ घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँगको एकीकरणका विरुद्ध अनेकौँ षडयन्त्र गर्दै पार्टी एकतालाई भङ्ग गर्न उद्दत केपी शर्मा ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पछि पुनर्जिवित नेकपा (एमाले) लाई समेत विभाजन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुस्प्रयत्न भइरहेको छ।

नेपाली जनताले पाँच बर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्।

नेकपा (एमाले) एकीकरणपूर्वको स्थितिमा पुनःस्थापित भएपछि हामीले यसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचनाहरु तथा जनसंगठनहरुलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरेका थियौं।

विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमी कमजोरीहरुको यथासमयमा समीक्षा गर्नुका साथै कम्युनिष्ट पार्टीहरुको एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका थियौँ।

तर पार्टी अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य भएन। उल्टै गत फागुन २८ गते हामीहरुलाई कुनै जानकारी नै नदिई प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लंघन गर्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरियो र कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो।

यसका साथै केन्द्रीय कमिटीको सदस्य पद रिक्त नै नरहेको अवस्थामा पार्टीको विधान मिचेर नेकपा (एमाले) को सदस्य नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भनी सार्वजनिक गरियो।

यस प्रकारको अवैध निर्णय रद्द गरी नेकपा (एमाले) लाई पूर्ववत्स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न हामीले केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यालयमा भएको वार्ता लगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गर्‍यौँ।

तर, पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई प्रतिक्रियावादीहरुको षडयन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिष्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन।

त्यसकारण नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति, विधान र संगठनात्मक प्रणालीको रक्षाको लागि यही चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्न हामी बाध्य भयौँ।

राष्ट्रिय कार्यकर्ता भेलाले नेकपा (एमाले) को सबै संरचना सर्वोच्च अदालतको फैसला अनुरुप पूर्ववत् क्रियाशील तुल्याई पार्टी एकतालाई जोगाउन गरेको आग्रहलाई समेत केपी शर्मा ओलीबाट स्वीकार गरिएन।

प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्‍याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने विभिन्न कामहरु भए।

भ्रष्टाचार र अनियमित कार्यहरुको चांग लाग्नथाल्यो। देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरु भत्किन थाले। त्यसो नगर्न पार्टीका बैठकहरुमा उहाँलाई पटक–पटक सचेत गराइयो। तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी वाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो।

यस्तो कार्यका विरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झण्डा उठाउँदै आएको कम्युनिष्ट पार्टीका सबै इमान्दार सदस्यहरुको कर्तब्य हुन्थ्यो। हामी त्यही कर्तब्य पूरा गर्न अग्रसर भयौँ।

सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित केपी शर्मा ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल, उपाध्यक्ष कमरेड भीम रावल, उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई अनेक झुठा आरोप लगाउँदै कथित स्पष्टिकरण सोधियो। त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुराशयको हिस्सा थियो।

अझ अघि बढेर उहाँबाट यही चैत्र १६ गते वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधान विपरीत स्वेच्छाचारी कार्य गरेकोमा चैत्र १९ गते उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटी सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई पनि सोही प्रकारका झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि नै पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टी विधान विपरितको अर्को स्वेच्छाचारी काम भएको छ। यस्तो कार्य पार्टी भित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै निरन्तरता हो।

यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरीतको कार्यको हामी भत्र्सना गर्दछौँ। केपी शर्मा ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन हामी नेकपा (एमाले) का सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad