राजनीति


संविधान र ऐनले काम नगर्ने, सेटिङले काम गर्ने अवस्था आयो : प्रचण्ड

संविधान र ऐनले काम नगर्ने, सेटिङले काम गर्ने अवस्था आयो : प्रचण्ड

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १०:५९,

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फासिवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन्।

शुक्रबार वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फाँसिवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताए।

देश भित्र र बाहिरका शक्तिहरु संवैधानिक निकायहरु समेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए। नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको पनि बताए।

उनले भने, ‘समाज चरम फासिवादी निरंकुशतातिर जाने खतरा छ। हामी त्यसकाविरुद्ध खबरदारी गरेका छौँ। अहिले तपाईं हामीले सुन्ने गरेको शब्द एउटा छ । अलि बढी नै सुन्ने गरेका छौँ सेटिङ। देश भित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुकोबीचमा सेटिङ हुने। नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने। त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो बिचित्रको स्थितिमा हामी अहिले छौं।’

अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरुमाथि प्रहार हुन थालेको बताए। उनले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिष्ट प्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताए।

उनले भने, ‘कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धी माथि प्रहार हुन थालेको बेला छ यो। जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धी माथि प्रहार हुन लागेको अवस्था छ। राज्य सबभन्दा बढी सुशासन र पारदर्शिताको प्रतिक हुनुपर्ने हो। सबभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो। कम्युनिष्टहरुको एकता र उनीहरुप्रति जनताको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको बेला छ। कम्युनिष्ट आन्दोलन भित्रैबाट सबैभन्दा वैचारिक ढंगले विचलन, विसंगति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरुको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरु यत्रतत्र देखिनु आफैँमा ठुलो विडम्बना भएको छ।’

अध्यक्ष प्रचण्डले सडक बिस्तारको नाममा सडक नजिकै भएका घरहरु भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताए। नेपालका नेवार समुदायलाई राज्यले जे गरेपनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरुलाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad