समाज


४६ करोड तिरेको खोप भारतबाट आएन, दोस्रो डोज समयमै नपाइने खतरा

४६ करोड तिरेको खोप भारतबाट आएन, दोस्रो डोज समयमै नपाइने खतरा

यज्ञराज जोशी
चैत २०, २०७७ शुक्रबार १०:५३,

फागुन ६ मा नेपालले भारतको सेरम इन्सिच्युट अफ इन्डियालाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो।

सुरुमै पूर्ण भुक्तानी गर्न नपाइने सार्वजनिक खरिद ऐनको नियमलाई निलम्बन गर्दै मन्त्रिपरिषद्ले सेरमलाई सो भुक्तानी गर्ने निर्णय गरेको थियो।

लगत्तै २० लाख डोज कोभिसिल्ड खोप खरिदका लागि स्वास्थ्य सेवा विभागले सेरमलाई उक्त रकम पठायो। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सेरमले दुई हप्ताभित्र १०–१० लाख गरी दुई पटकमा खोप पठाउने जानकारी दिए।

त्यसमध्ये १० लाख डोज खोप सेरमले नेपाल पठायो। उक्त खोप पाएपछि नेपालले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकका लागि पहिलो मात्रा लगाउन पनि सुरु गर्‍यो।

भारतले सुरुमा उपहारस्वरुप दिएको १० लाख, खरिद गरेको १० लाख र कोभ्याक्स सुविधामार्फत पाएको साढे ३ लाखमध्ये सरकारले १६ लाख ७३ हजार जनालाई खोपको पहिलो मात्रा लगाइसकेको छ।

तर, पैसा भुक्तानी गरेर पनि पाउनुपर्ने थप १० लाख खोप नपाउँदा नेपालको खोप अभियान प्रभावित भइसकेको छ। ४६ करोड रुपैयाँको खोप नआउँदा वैशाख ७ बाट लगाउने भनिएको खोपको दोस्रो मात्रा नागरिकले नपाउने खतरा बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पनि उक्त खोप आउने सुनिश्चित भइनसकेको बताए।

‘आउन त आइहाल्छ तर कुन दिन आउने भन्ने निश्चित भएको छैन। छलफल भइरहेको छ,’ प्रवक्ता गौतमले भने, ‘खोप उत्पादन नै थोरै भएकाले आउने मिति तय नभएको हो।’

दोस्रो मात्रा नपाउने खतरा
सेरमले स्वास्थ्य मन्त्रालयलाई यसअघि गत चैत २ मै बाँकी १० लाख खोप दिने बताएको थियो। तर उक्त खोप नपठाएपछि नेपालले गत चैत ४ गतेबाट सुरु गर्ने भनेको खोप अभियान नै रोक्नुपरेको थियो।

कोभिसिल्ड खोप प्रभावकारी हुन दुई मात्रा लगाउनुपर्ने हुन्छ। १२ हप्ताभित्र दोस्रो मात्राको खोप लगाउनुपर्ने भएकाले सरकारले वैशाख ७ देखि दोस्रो मात्रा लगाउने योजना बनाइसकेको छ।

भारतले सहयोग गरेको, खरिद गरेको र कोभ्याक्स सुविधाबाट गरी नेपालले हालसम्म जम्मा २३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ। जसमध्ये चैत्र ४ सम्म १६ लाख ७३ हजार जनालाई पहिलो मात्रा खोप लगाइसकिएको छ।

दोस्रो मात्राका लागि पनि १६ लाख ७३ हजार डोज आवश्यक पर्छ। तर, नेपालमा अहिले ६ लाख ७४ हजार डोज मात्र बाँकी छ। सोही कारण थप खोप नआए दोस्रो मात्रा लगाउँने अभियान प्रभावित हुने देखिन्छ।

यहीबीच भारतले खोप निर्यात रोकेसँगै नेपालले थप खोप पाउन मुस्किल देखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बास्तोला कोभिसिल्डको दोस्रो मात्रा खोप लगाए मात्रै यसले काम गर्ने बताउँछन्।

‘पहिलो मात्राले केही हदसम्म एन्टिजेन हो भनेर चिनाउने हो। पहिलो मात्रा लगाए पनि संक्रमित हुन सकिन्छ,’ उनले भने, ‘दोस्रो खोप लगाएको दुई देखि चार हप्तामा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बन्छ। त्यसैले यसको दोस्रो डोज लगाउन आवश्यक छ।’

मन्त्रालयका प्रवक्ता गौतमले दोस्रो मात्राको खोप दिने समयअघि बाँकी खोप आउने विश्वास व्यक्त गरे।

‘सरकारले दोस्रो डोज दिनेभन्दा अघि नै खरिद गरेको खोप आउनेमा हामी विश्वस्त छौँ। यसकारण खोप अभियान प्रभावित हुन्छ भन्ने हामीलाई लाग्या छैन,’ उनले भने।

दोस्रो मात्राका रुपमा प्रयोग हुन्न चिनियाँ खोप
चीन सरकारले पनि नेपाललाई ८ लाख डोज भेरोसेल नामक खोप उपहारस्वरुप दिएको छ। तर पहिलो मात्रा खोप कोभिसिल्ड लगाएकाले दोस्रो मात्रा अन्य खोप लगाउन नमिल्ने डा. बास्तोला बताउँछन्।

‘अहिलेसम्म एक कम्पनीले उत्पादन गरेको र अर्को कम्पनीले उत्पादन गरेको खोप मिक्स गरेर लगाएर अध्ययन भएको छैन,’ उनी भन्छन्, ‘अहिलेसम्मको अध्ययनअनुसार पहिलो मात्रा जुन खोप लगाएको हो दोस्रो पनि त्यही कम्पनीको लगाउनुपर्छ।’

सरकारले पनि चीनबाट आएको खोपलाई दोस्रो मात्राका रुपमा प्रयोग नगर्ने जनाइसकेको छ।

उक्त खोप ४५ देखि ५९ वर्षसम्मका जोखिमयुक्त जनसंख्यालाई दिने सरकारी तयारी छ। तर कसलाई प्राथमिकता दिने र कहिलेबाट लगाउन सुरु गर्ने अझै निक्र्यौल भइसकेको छैन।

छैन नयाँ खोप किन्ने सुरसार
भारतबाट खरिद गरेको खोप नआइरहेका बेला सरकारको अरु खोप किन्ने सुरसार छैन।

फागुन दोस्रो साता नै मन्त्रालयले थप ५० लाख डोज खोप खरिदका लागि सेरमलाई पत्राचार गरेको थियो।

कम्पनीले एजेन्टमार्फत आउन भनी जवाफ फर्काएपछि उक्त प्रक्रिया नै अवरुद्ध भएको थियो। सेरम इन्स्टिच्युटको नेपालस्थित अधिकारिक बिक्रेता हुकुम इन्टरप्राइजेज हो। उक्त कम्पनीले नेपालले खरिद गर्ने खोपमा १० प्रतिशत कमिसन मागेको छ। सेरमले पनि नेपाललाई कमिसन रकम जोडेरै पैसाको प्रस्ताव पठाएपछि खोप खरिदको प्रक्रिया अघि बढेको थिएन।

त्यसपछि भारतले खोप निर्यात नै रोकेपछि बाँकी खोप खरिदको प्रक्रिया पनि अवरुद्ध भएको हो।

मन्त्रालयका प्रवक्ता गौतम अन्य कम्पनीले नेपालमा खोप दर्ता नगरेको र दर्ता नभएका खोप किन्न नपाइने बताउँछन्। कोभिसिल्ड पनि बजारमा उपलब्ध नभएकाले किन्न मुस्किल रहेको उनले बताए।

‘नयाँ किन्नका लागि पहिले अरु खोप रजिस्टर्ड हुनुपर्यो। अन्याथा खोप किन्न पाइन्न,’ उनले भने, ‘कोभिसिल्ड किन्न पनि बजारमा उपलब्ध हुनुपर्‍यो। बजारमै नभएको खोप कसरी किन्नुहुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .