ad ad

राजनीति


अमेरिकाले भन्यो : नेपालमा गैरन्यायिक हत्या र अधिकार हननका घटना भए

अमेरिकाले भन्यो : नेपालमा गैरन्यायिक हत्या र अधिकार हननका घटना भए

नेपालखबर
चैत १९, २०७७ बिहिबार ४:१९,

अमेरिकाले नेपालमा गैरन्यायिक हत्या र यातनाजस्ता गम्भीर अधिकार हननका घट्ना भएको बताएको छ।

नेपालमा राज्यले नै व्यक्तिमाथि अत्यधिक बल प्रयोग गरेर हत्या गर्ने, प्रहरी नियन्त्रणमा मानिसहरुको ज्यान जाने, वेपत्ता पार्ने, यातना दिने लगायतका गम्भीर अधिकार हननका घट्ना भएको उसले बताएको छ।

अमेरिकाको विदेश मन्त्रालयद्वारा जारी प्रतिवेदनमा नेपालमा अभिव्यक्ति स्वतन्त्रता, प्रेस तथा इन्टरनेट लगायतमा बन्देज, शान्तिपूर्ण भेलामा रोकावट बढाइएको उल्लेख छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सार्वजनिक गरेको सो प्रतिवेदनमा नेपालमा शरणार्थी र मुख्यतः तिब्बती शरणार्थीमाथि बन्देज उल्लेख छ।

नेपाल सरकारले त्यस्ता अधिकार हननका घट्नामा संलग्न अधिकारीलाई त्यसप्रति जवाफदेही नबनाएको आरोप पनि प्रतिवेदनमा लगाइएको छ।

हालैका वर्षहरुमा भएका विरोध प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको आरोप लागेका सुरक्षाकर्मी र द्वन्द्वका बेला मानवअधिकार हनन गर्नेलाई पनि जवाफदेही नबनाएको अमेरिकी सरकारको भनाइ छ।

प्रतिवेदनकाे नेपाल रिपोर्ट–२०२० नामक खण्डमा गत जुन १० मा धनुषा प्रहरीको हिरासतभित्रै मृत्यु भएका दलित शम्भु सदाको घट्नालाई गैरन्यायिक हत्याका रुपमा उल्लेख गरिएको छ। उनले चलाएको ट्रकले ठक्कर दिँदा मान्छेको मृत्युभएपछि उनी पुलिससामु पुगेका थिए।

उनको प्रहरी हिरासतमा मृत्यु भएकोमा यातनाका कारण ज्यान गएको भनी आफन्तको भनाइ समेत अमेरिकी प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाले जुलाई १६ मा २४ वर्षे राजकुमार चेपाङ र अन्य ६ जनालाई नियन्त्रणमा लिई यातना दिएर छाडेको र उनको सोहि कारण पछि मृत्यु भएको भन्ने आरोप समेत प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, जुन २०१९ मा सर्लाहीमा मारिएका विप्लव माओवादीका जिल्लानेता कुमार पौडेलको घट्ना पनि अमेरिकाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

नेपालमा मानवअधिकारको अभ्यास नामक सन् २०२० को वार्षिक प्रतिवेदनमा नागरिक अधिकारको सम्मान, अभिव्यक्ति स्वतन्त्रता, इन्टरनेट स्वतन्त्रता, प्राज्ञिक स्वतन्त्रता तथा सांस्कृतिक गतिबिधि, शान्तिपूर्ण भेला गर्ने, संगठित हुने स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, शरणार्थी तथा राज्यविहीन नागरिकको स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, निर्वाचन अभ्यास, सरकारमा पारदर्शिता तथा भ्रष्टाचार, मानव वेचविखन, जातीय अधिकार, श्रमिक अधिकार बालअधिकार, कार्यथलोको अवस्था, लगायत शीर्षक, उपशीर्षकमा तत्सम्बन्धी विषय तथा घट्नाक्रमका विवरण र व्याख्याहरु गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .