सरकार र थारू कल्याणकारी सभाबीच आज (मंगलबार) पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
वार्ता सौहार्दपूर्ण र सकारात्मक दिशाउन्मुख रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार एवं सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन्।
अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति भएको पनि उनले बताएका छन्।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाल सरकार र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भयो। वार्ता सौहार्दपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ। अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति पनि भएको छ।’
डा. भट्टराई विप्लव नेकपासँगको वार्तामा पनि वार्ता टोलीका सदस्य थिए।
गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले थारू कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोलीसँग मंगलबार पहिलो चरणको वार्ता गरेको हो।
सरकारी वार्ता टोलीमा डा. भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य छन्।
उता थरुहटतर्फ रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेको वार्ता टोली छ।
टीकापुर काण्डमा हाल कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरी, थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरीलगायतको रिहाइ, मुद्दा फिर्ता, थरुहट आन्दोलन क्रममा मारिएकालाई सहिद घोषणा, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि आरक्षणलगायत १९ बुँदे माग उनीहरूको छ।

प्रतिक्रिया