भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले २१ वर्षदेखि एक दिन पनि बिदा नमनाएको बताएका छन्। देश र जनताको हितका लागि बिना बिदा २१ वर्षदेखि आफू क्रियाशील भएको दाबी मोदीले गरेका हुन्।
भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा मोदीले गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म आफूले कहिल्यै बिदा नलिई काम गरिरहेको बताए।
उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरूलाई पनि निर्देशन दिएका केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए।
‘मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो,’मोदीको भनाई उद्धृत गर्दै मेघवालले भने।
विश्वका ११० देशका नेताहरूले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको दाबी उनको थियो। ‘देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती होइन,’ मोदीले भने।
असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको भन्दै उनले सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न मन्त्री र सांसदलाई निर्देशन दिए।

प्रतिक्रिया