झापा विद्रोहका क्रममा पञ्चायती शासकले ४७ वर्षअघि हत्या गरेका राम प्रधान र चन्द्र डाँगीलाई सरकारले शहीद घोषणा गरेको छ।
उनीहरूलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो । झापाको सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई सरकारले ०७२ सालमै शहीद घोषणा गरे पनि प्रधान र डाँगी भने शहीद घोषणा हुनबाट छुटेका थिए।
केपी शर्मा ओलीले आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला सुखानीमा मारिएका पाँच जनालाई शहीद घोषणा गरेका थिए। ढिलै भए पनि प्रधान र डाँगीलाई सरकारले शहीद घोषणा गरेर उच्च सम्मान गरेको झापा विद्रोहका अर्का योद्धा तथा तत्कालीन संविधानसभा सदस्य मनकुमार गौतमले बताए।
२०३० साल कात्तिक ४ गते इलामको शान्तिपुरमा एक किसानको घरको कोठाभित्र आश्रय लिएर सुतेको अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइराले घोचीघोची प्रधानको हत्या गरेका थिए । डाँगीलाई भने बिर्तामोडस्थित गरामनीमा आफ्नै घरमा प्रहरीले गोली हानी हत्या गरेको थियो।
प्रधानका समकक्षी खडानन्द वाग्लेले विसं २०५४ मा तत्कालीन बुधबारे गाविसमा आफू अध्यक्ष हुँदा प्रधानको अर्धकदको शालिक बनाइएको बताए। सोही स्थानमा रामकी धर्मपत्नी इन्द्रमाया र दुई छोराले मजदूरी गरेर जीपनयापन गरिरहेका छन्।
आर्थिक अवस्था नाजुक भएको प्रधान परिवारलाई हालसम्म कसैबाट पनि सहयोग नमिलेको वाग्लेले बताए। ‘उहाँ पञ्चायती शासनविद्धको आन्दोलनमा होमिनुभयो। घरको अवस्था त्यही बेला कमजोर थियो, छोराछोरीले पढ्न लेख्न पाएनन्,’ वाग्लेले भने।
त्यसैगरी २०३० साउन २० गते डाँगीलाई प्रहरीले घरमै गोली हानी हत्या गरेको थियो । साविक बिर्तामोड–७ नडियाबारीमा सेल्टरका रूपमा रहेको डाँगीको घरमा तत्कालीन झापा आन्दोलनका योद्धाको गोप्य बैठक चलिरहेका अवस्थामा प्रहरीले घेराउ गरेको थियो । प्रहरीको घेरा तोडेर भाग्ने क्रममा डाँगीलाई गोली हानेर हत्या गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सदस्य शिव ढुङ्गेलले बताए।
हाल बिर्तामोड–९ मा डाँगी परिवारको बसोबास गर्दै आएको छ । उनका धर्मपत्नी र दुई छोरा छन्।

प्रतिक्रिया