अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोरोना खोप गम्भीर अवस्थाका संक्रमितमा पनि प्रभावकारी देखिएको दाबी गरिएको छ।
संयुक्त राज्य अमेरिका र दक्षिण अमेरिकामा गरिएको परीक्षणमा खोप लक्षणयुक्त कोरोना संक्रमण रोक्न ७९ प्रतिशत सफल पाइएको हो।
यस्तै अध्ययनमा सहभागी कुनै पनि संक्रमित गम्भीर अवस्थामा नपुगेको तथा कसैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नआएको बताइएको छ। यो खोप उत्पादन गरिरहेको बायोटेक फार्मले सोमबार नयाँ परीक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो।
यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ भने यो खोप नेपालमा पनि लगाउने क्रम जारी छ।
पछिल्लो अध्ययन अमेरिका, चिली, पेरुलगायत देशमा गरिएको हो। ३२ हजार जनामा गरिएको परीक्षणमा चार हप्ताको फरकमा दोस्रो डोज दिइएको थियो।
यो खोप ६५ वर्षभन्दा माथिका व्यक्तिमा ८० प्रतिशत प्रभावकारी पाइएको छ। खोप विकासकर्तामध्ये एक अक्सफोर्ड विश्वविद्यालयका प्राध्याक्ष्क एन्ड्रु पोलार्डले भनेका छन्, ‘नयाँ मानिसमा गरिएको परीक्षण देखिनु खुसीको खबर हो। यसबाट खोपको उपयोग बढ्छ। यो खोपले विश्वमा कोरोना महामारी अन्त्य गर्न ठूलो मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ।’ एजेन्सी

प्रतिक्रिया