शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन्।
उनले सबैभन्दा ठूलो पार्टी एमाले भएकोले सबै दल मिलेर हटाउन नसक्ने चेतावनी दिएका हुन्।
‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताब ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन। सबैभन्दा पावरफुल सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन’, उनले भने।
ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले अविश्वासको प्रस्ताव ल्याएर देखाउन चेतावनी दिए।
उनले यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार भएको दाबी गर्दै कसैले हटाउन नसक्ने बताए।
यही सरकारले चुनाव गर्ने र फेरि पनि केपी ओली नेतृत्वकै सरकार बन्ने उनको भविष्यवाणी थियो।
पार्टीको विधानविपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै उनले राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको चर्चा गरे।
मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द (विप्लव) र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउन सफल भएको चर्चा पनि उनले गरे।
प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको उल्लेख गर्दै बुहारी एवं खानेपानी मन्त्री विना मगरको कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गरे।

प्रतिक्रिया