जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।
स्वास्थ्यमा समस्या देखिएको भन्दै डा. भट्टराई बैठकमा नजाने भएको उनका स्वकीय सचिव रोशन पोखरेलले नेपालखबरलाई जानकारी दिए।
राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे सर्वदलीय बैठक डाकेकी छिन्।
‘स्वास्थ्यकै कारण डा. भट्टराई आज बस्ने भनिएको पार्टीको शीर्ष नेताको बैठकमा पनि जान सक्नुभएन’, पोखरेलले भने, ‘राष्ट्रपतिले राखेको सर्वदलीय बैठकमा पनि जान सक्नुहुन्न। उहाँ निवासमै आराम गरिरहनुभएको छ।’
फागुन १७ गते भारत पुगेर डा. भट्टराईले पेटको उपचार गरेका थिए।
उनको पेटमा देखिएको एलर्इटी क्यान्सर नभएको पुष्टि भएको थियो।
त्यसपछि पनि कोरोनाको खोप लगाएपछि डा. भट्टराईलाई ज्वरो आएको थियो। पछिल्ला दिन धेरै दौडधूप नगर्न उनलाई डाक्टरले सुझाव दिएका छन्।
तर, सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपालाई मान्यता नदिएर पूर्ववत् अवस्थामा फर्काएपछि नयाँ सरकार गठनको विषयमा जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तीव्र छलफल भइरहेको छ।

प्रतिक्रिया