राजनीति


शीतल निवासमा आज सर्वदलीय बैठक

शीतल निवासमा आज सर्वदलीय बैठक

नेपालखबर
चैत ३, २०७७ मंगलबार १:१९,

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज (मंगलबार) शीतल निवास (राष्ट्रपतिको कार्यालय) मा सर्वदलीय बैठक बस्दै छ।

देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै (सोमबार) पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गरेकी हुन्।

आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ।

यसआधारमा आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायत संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापति सहभागी हुने सम्भावना छ।

दलहरूबीच विवाद बढेको तथा नयाँ सरकार गठनका लागि छलफल चलिहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। यसरी सोच्दै नसोची, विज्ञसँग परामशैै नगरी सिफारिस तुरुन्त कार्यान्वयन गरेको भन्दै राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो।

तर विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा त्यो कदम असंवैधानिक ठहर गरी यही फागुन ११ गते संसद् पुनर्स्थापना भएको हो।

संसद् विघटनको कदमलगत्तै तत्कालीन नेकपामा विभाजन देखियो। त्यसपछि नेकपाको आधिकारिता आफ्ना पक्षमा पार्न प्रचण्ड–नेपाल र ओली समूहबीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो।

तर यहीबीच २ वर्षअघि हालिएको मुद्दाको फैसला गर्दै सर्वाेच्चले नै नेकपा बदर गरी पहिलेकै पार्टीहरू एमाले र माओवादी केन्द्र कायम गरिदिएपछि अहिले प्रधानमन्त्री ओलीको सरकार संकटमा पर्नै अवस्था बन्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad