राजनीति


ओली र प्रचण्डबीच फोनमा भयो कुराकानी, भेट निश्चित छैन

ओली र प्रचण्डबीच फोनमा भयो कुराकानी, भेट निश्चित छैन

नेपालखबर
चैत २, २०७७ सोमबार १५:११,

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ।

माओवादी केन्द्रका एक उच्चतहका नेताका अनुसार सोमबार विहान प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेका थिए।

‘प्रधानमन्त्रीले भेटौं भनेर फोन गर्नुभएको हो, प्रचण्डले विषयबारे जिज्ञासा राख्नुभयो,’ उनले भने।

ती नेताका अनुसार कहिले भेट्ने भन्नेबारे भने कुनै निर्णय भएको छैन।

‘फोन आउँदा अध्यक्ष प्रचण्ड केन्द्रीय समितिको बैठकमै हुनुहुन्थ्यो, फोनमा भेटौ भनेर राखेको प्रधानमन्त्रीको प्रस्तावमा कुनै निर्णय दिनुभएन, भेट कहिले हुन्छ थाहा छैन।’

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितको टोलीसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेपछि प्रचण्डलाई फोन गरेका हुन्।

ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनी र प्रचण्डबीच पहिलोपटक टेलिफोनमा संवाद भएको नेताहरुको भनाइ छ।

प्रचण्डनिकट अर्का एक केन्द्रीय सदस्यका अनुसार ओलीले प्रचण्डलाई २ पटक फोन गरिसकेका छन्।

‘गत आइतबार पनि ओलीले प्रचण्डलाई टेलिफोन गरेर भेट्ने प्रस्ताव गरेका थिए तर प्रचण्डले मान्नुभएन,’ ती केन्द्रीय सदस्यले भने।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेको छ।

एमाले पार्टी व्युँतिएपछि वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीले पार्टी निर्णय एकलौटी गरेको भनी त्यसको विरोध सुरु गरिसकेको छ।

ओलीले यसबीचमा माओवादी केन्द्रका ७ मन्त्रीसहित २३ जना नेतालाई आफूतिर तान्न सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad