बेलायतका राजकुमार विलियमले आफ्नी भाइबुहारीले दाबी गरेजस्तो बेलायतको राजपरिवार रंगभेदी नभएको बताएका छन्।
उनकी भाइबुहारी मेगनले हालै दिएको एक चर्चित अन्तरवार्तामा आफ्नो छोरा आर्ची नजन्मिँदै उसको छालाको रङ कतिसम्म कालो होला भनी नाम उल्लेख नगरिएका राजपरिवारका एक सदस्यले प्रश्न गर्न थालेपछि आफूले चरम विभेद अनुभूति गरेको बताएकी थिइन्।
ओप्रा विन्फ्रेसँग विलियमका भाइ ह्यारी र उनकी श्रीमती मेगनले आइतबार दिएको अन्तरवार्तामा सो खुलासा गरेपछि यसअघि बेलायतको राजपरिवारले त्यसप्रति दुःख व्यक्त गरेको थियो।
उनको दाबीका कारण सिर्जित विवादलाई सो राजपरिवारमा सन् १९९७ मा बेलायती युवराज्ञी तथा विलियम र ह्यारीकी आमा डायनाको मृत्यु हुँदा आइपरेको समस्यापछिको सबैभन्दा ठूलो झट्काका रुपमा लिइएको छ।
पूर्वी लण्डनस्थित एक विद्यालयमा पुगेका विलियमले सो अन्तरवार्तापछि आफू र ह्यारीबीच कुराकानी नभएको बताए।
राजपरिवार नै रंगभेदी भएको भन्ने मेगनको आरोपको उनले खण्डन गरे।
‘हामीहरु त्यस्तो रंगभेदी परिवार पटक्कै होइनौं,’ ३८ वर्षे विलियमले सञ्चारकर्मीसँग भने।
दुईघन्टा लामो सो अन्तरवार्तामा मेगनले दरबारभित्रै त्यस्तो विभेदको अनुभूति भएपछि आफूले आत्महत्या गर्ने सम्मको सोँच पलाएकाे बताउँदा पनि राजपरिवारका सदस्यहरुले त्यसबारे वेवास्ता गरेको बताएकी छन्।
ह्यारीले पनि आफ्ना पिता तथा युवराज चार्ल्सले समेत आफूलाई निराश पारेपछि आफू निकै फन्दामा परेको बताएका छन्।
गत मंगलबार ९४–वर्षे महारानी एलिजावेथका तर्फबाट वकिंगम दरबारले वक्तव्य जारी गर्दै ह्यारी र मेगनको भनाइबाट राजपरिवार दुःखी भएको बताएको थियो।
यो पनिः
- श्रीमती र छोरामाथि रंगभेदी टिप्पणी बढेपछि ह्यारी शाही पदवी त्याग्न बाध्य भए
- प्रिन्स ह्यारी र मेगनले भनेः छोरा आर्चीले बहिनी उपहार पाउँदैछन्

प्रतिक्रिया