राजनीति


रास्वपा महाधिवेशनले तातेको गेस्टहाउस चउर : प्रतिनिधि पछ्याउँदै होटलमा केन्द्रीय सदस्यका आकांक्षी

रास्वपा महाधिवेशनले तातेको गेस्टहाउस चउर : प्रतिनिधि पछ्याउँदै होटलमा केन्द्रीय सदस्यका आकांक्षी

नेताहरु असिनपसिन भएर मत मागिरहेका छन् (सरोज नेपाल)


सागर न्यौपाने
असार ७, २०८३ आइतबार १७:५०, भरतपुर (चितवन)

आइतबार दिउँसो झमझम वर्षात्पछि अपराह्नसम्म चितवन सेलाएको छ। तर भरतपुर १० को गेस्टहाउस चउरमा भने उति शीतल छैन। 

फागुन २१ को चुनावमा एकल बहुमत ल्याएर देश हाँकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन गर्दै गर्दा यहाँको माहोल तातेको छ। 

बन्दसत्र सुरु हुनु एक दिनअघि नै केन्द्रीय सदस्य बन्न लालायित नेताहरु असिनपसिन भएर मत मागिरहेका छन्। यो भीडमा वर्तमान सरकार र संसद्का मन्त्री र सांसदहरुलाई चिन्न गाह्रो पर्दैन। 

रास्वपाले गत चुनावमा १८२ जना सांसद जितेको थियो। त्यसमध्ये प्रधानमन्त्रीसहित १८ जना मन्त्री छन्। मन्त्री र सांसद भएकाबाहेक हजार बढी केन्द्रीय सदस्यका दाबेदार देखिएका छन्। यी अनुहारभित्र कतिपय त पार्टीकै संस्थापकहरुलाई पनि देखिएको छ। 

रास्वपाको विधानअनुसार १५१ केन्द्रीय सदस्य रहन्छन्। जसमा सय जनाबाहेक अरु ५१ जनालाई सभापतिले मनोनीत गर्ने भएकाले त्यो सयभित्र अटाउन नेताहरुबीच दौडधूप चलेको छ।

केन्द्रीय सदस्यले नै पदाधिकारी चयन गर्ने भएकाले सबैको चासो यसैमा एकत्रित भएको सांसद निशा डाँगीले बताइन्। 

‘म पनि प्रत्यक्ष चुनाव लड्ने हो’, गेस्टहाउस चउरमा नेपालखबरसँग उनले भनिन्, ‘चुनाव जितेरै केन्द्रीय सदस्य हुने हो।’

पहिलो महाधिवेशनबाटै शक्तिशाली पदमा पुग्ने दाउमा रास्वपा नेताहरु मरिमेटेर लागेका छन्। कार्यतालिकाअनुसार ८ गते दिउँसो मात्रै उम्मेदवारी दिन पाइनेछ तर माहोल यस्तो छ कि एकैछिनमा निर्वाचन हुँदै छ! 

पदाधिकारी चुनाव लड्न केन्द्रीय सदस्य बन्नैपर्ने हुँदा नेताहरुको ध्यान सर्वप्रथम केन्द्रीय सदस्यतर्फ गएको हो। 

सोही कारण सय जनाभित्र पर्न मन्त्रीदेखि सांसदहरु धमाधम मत मागिरहेका छन्।

भूमि व्यवस्था र सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले उम्मेदवारी घोषणा गर्दै सहयोग गर्न आग्रह गरिरहेको देख्न सकिन्छ। 

‘सबैको साथ र अपेक्षासहित!’, सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर अंकित ब्यानरमा मन्त्री रावलले आफ्नो तस्बिर राख्दै लेखेकी छिन्। 

यसरी नै मत मागिरहेका छन् रास्वपा संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठ पनि। ‘केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छु’, उनले भने। 

उता पूर्वउपसभामुख इन्दिरा राना मगर त होटलमै पुगेर प्रतिनिधिसँग भेटिरहेकी छिन्। मत माग्न प्रतिनिधि बसेको होटल पुग्ने उनी मात्र छैनन्। 

सभापति रविनिकट मानिने सदस्य एवं सांसद दीपक बोहोराले पार्टी संस्थापक सदस्य रहेको भन्दै विगतमा भोगेको दुःख सम्झिए।

‘हामीले चुनाव जित्यौँ, जनताको मन जित्यौँ तर अबको चुनौती अझ ठूलो छ’, उनले नेपालखबरसँग भने, ‘जनताले हामीमाथि राखेको विश्वास जोगाउनुपर्ने छ, नेतृत्वलाई सही बाटोमा हिँड्न प्रेरित गर्नुपर्ने छ, गलत हुँदा सच्याउनुपर्ने छ। सही हुँदा साथ दिनुपर्नेछ।’ 

विगत र वर्तमानलाई सम्झिँदै उनी आफूलाई केन्द्रीय सदस्य बनाउन लागिपरेका छन्। 

‘यदि तपाईंलाई लाग्छ कि संघर्षका कठिन दिनमा तपाईंहरुसँगै उभिएको एउटा साथी केन्द्रीय समितिमा पुग्नुपर्छ, यदि तपाईंलाई लाग्छ कि पार्टीलाई अझ जनमुखी, उत्तरदायी बनाउन मेरो भूमिका उपयोगी हुनसक्छ भने मलाई आफ्नो अमूल्य मत दिनुहोस्’, उनले महाधिवेशनस्थलमा एक प्रतिनिधिसँग मत माग्दै भने। 

रास्वपाको उच्च तहमा सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्रीमा चुनाव नगर्ने समझदारी जुटिसकेको छ। तर बाँकी पदाधिकारी उठ्न भने केन्द्रीय सदस्य जितेर आउनुपर्ने भएको छ। सोही कारण गेस्टहाउस चउरमा यतिबेला गर्मी बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad