पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन्।
चितवनको भरतपुरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा आफूले लिएको उल्लेख गर्दै मुलुकमा सुशासन र समृद्धिका लागि अघि बढन पनि आग्रह गरे।
उनले रास्वपाका सफलतालाई आफनो पुस्ताका नेताहरूले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भन्ने यसलाई नयाँ खालको क्रान्तिको रुपमा लिएको बताए।
उनले भने,‘रास्वपाले यो ४ वर्ष भित्र जुन उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर, संघर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गरेर जसरी यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ। यसलाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा लिनुपर्दछ भन्ने मेरो मान्यता छ। मेरो पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ–उहाँहरु यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिराख्नु भएको छ।’
पूर्वप्रधानमन्त्री भट्टराईले आफूले नयाँ राजनीतिक शक्ति भनेर वैकल्पिक राजनीतिक शक्तिको पैरवी गर्दै आएको र रास्वपालाई त्यसैको महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको पनि बताए।
Shares

प्रतिक्रिया