राजनीति


श्रीमती र छोरामाथि रंगभेदी टिप्पणी बढेपछि ह्यारी शाही पदवी त्याग्न बाध्य भए!

श्रीमती र छोरामाथि रंगभेदी टिप्पणी बढेपछि ह्यारी शाही पदवी त्याग्न बाध्य भए!

नेपालखबर
फागुन २४, २०७७ सोमबार ७:१७,

ब्रिटिस राजकुमार ड्युक अफ ससेक्स ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको जिम्मेवारीबाट पन्छिएको एक वर्षभन्दा लामो समय भइसकेको छ।

अहिले अमेरिकामा बसिरहेका उनीहरू आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा अलग छन्।

यस अन्तर्वार्तामा उनीहरुले किन शाही पदवी त्यागे भनेर छनक पाउन सकिन्छ।

सीबीएस टिभीमा प्रसारित बहुचर्चित अन्तर्वार्तामा विन्फ्रीसँग मेगनले भनेकी छिन्,‘मलाई शाही परिवारको बारेमा ह्यारीले जति भनेका थिए त्यति मात्र थाहा थियो। मान्छेको बुझाइमा यो एक परिको दुनिया हो तर सच्चाई धेरै अलग छ।’

महारानीसँग भेट्न जाँदा जब ह्यारीले मेगनलाई दरबारको औपचारिकताबारे जानकारी छ कि छैन भनेर सोध्दा मेगन अचम्ममा परेकी थिइन्। यद्यपी मेगनले औपचारिकता सिकेर महारानीसँग भेटेकी थिइन्।

ओप्राले राजकुमार विलियमकी पत्नी केट मिडल्टन र मेगनबीच फ्लावर गर्ल्स कपडाको विषयमा भएको विवादको बारेमा पनि प्रश्न गरेकी थिइन्। सन् २०१८ मा मेगन र ह्यारीले विवाह गर्न केहीदिन अगाडि फ्लावर गर्ल्स कपडाको विषयमा विवाद हुँदा मेगनले गर्दा केट रोएको समाचारहरु आएका थिए।

तर मेगनले उक्त खबर झुठो भएको बताउँदै आफू चाहीँ सो विवादमा रोएको र केटका कारण आफ्नो चित्त दुखेको बताइन्। उनले केटलेपछि पत्र लेखेरै माफी मागेको पनि बताएकी छिन्।

उनी भन्छिन्,‘केटलाई तल पार्न मैले यो भनिरहेको छैन। उनी राम्रो मानिस हुन्।’

मेगनले अन्तर्वार्तामा शाही परिवार र फर्मबीचको अन्तर पनि बताइन्। उनका अनुसार फर्म शाही परिवारको व्यापारसँग जोडिएका मानिसहरु हुन्।

सो क्रममा उनले महारानीको व्यवहार आफूसँग सँधै उत्कृष्ट भएको पनि बताइन्। सन् २०१८ मा मेगनले महारानीले आफूलाई मोतिको सेट उपहार दिएको बताएकी थिइन्।

शाही परिवारमा रहँदा मेगनले एक्लोपन महसुस गरेकी थिइन। उनी भन्छिन्,‘कयौं दिनसम्म मैले एक्लोपन महसुस गरेको थिए। जीवनमा पहिलोपटक त्यस्तो महसुस गरेको थियो। मलाई नियमले बाँधेको थियो र साथीसँग बाहिर खाना खान जान पाउँदिन थिए।’

गतवर्षको सुरुवातमा प्रिन्स ह्यारीले आफू र पत्नीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने घोषणा गर्दै अब आर्थिक रुपमा स्वतन्त्र बन्ने बताएका थिए।

उनीहरुले बेलायत र उत्तर अमेरिका दुवै स्थानमा समय बिताउने बताएका थिए। तर आखिर के विषयले उनीहरुलाई शाही पदवी त्याग्न बाध्य बनायो?

रंगभेदी व्यवहार

मेगन र ह्यारीको पहिलो सन्तानको रुपमा छोरा आर्ची जन्मिएका छन्। मे ६ सन् २०१९ मा आर्चीको जन्म भएको थियो।

तर दरबारले आर्चीलाई राजकुमारको उपाधि नदिने खबर सुन्दा मेगनलाई ठूलो झट्का लागेको थियो। मेगनका अनुसार शाही उपाधिभन्दा पनि उनलाई आर्चीको सुरक्षाको चिन्ता लागेको थियो।

अन्तर्वार्तामा उनले भनेकी छिन्,‘मेरो लागि सबैभन्दा ठूलो उपाधि आमा हो। म हैरान भएकी हाम्रो छोरालाई कुनै सुरक्षा नदिने बताइएको थियो। गैर–गोरा सन्तान भएका कारण अन्य राजपरिवारका सन्तानले जस्तो सुरक्षा र पद उनले पाएनन्।’

मेगन भन्छिन्,‘छोराको हक कसैले खोस्न सक्दैन थियो। जब म गर्भवती थिए उनीहरुले आर्चीको लागि नियम बदलिएको बताए। तर किन त्यस्तो भयो यो मेरो सवाल हो।’

ओप्राले प्रश्न गर्छिन् कि शाही परिवार किन आर्चीलाई राजकुमार बनाउन चाहँदैन? के उनको रंगको कारण त्यस्तो गरिएको हो?

आफूले इमानदारिताका साथ जवाफ दिने बताउँदै मेगनले भनेकी छिन्,‘जब म गर्भवती थिए यो तय भइसकेको थियो आर्चीले शाही सुरक्षा पाउँछन् या पाउँदैनन्। आर्चीलाई शाही उपाधि प्रदान नगर्ने र त्यो भन्दा आर्चीको छालाको रङ कति कालो हुन्छ भनेर चर्चा हुन्थ्यो।’

कसले त्यस्तो टिप्पणी गरे भनेर ओप्राले प्रश्न गर्दा मेगन भन्छिन्,‘मलाई लाग्छ यो बताएभने शाही परिवारको छविमा आँच पुग्नसक्छ। मलाई ह्यारीले भनेका थिए यस्तो समेत कुरा हुँदो रहेछ।’

मेगनले यस्तै रंगभेदी कुराले आफूलाई बाँच्नै मन नलागेको पनि अन्तर्वार्तामा बताएकी छिन्। मेगनले आफूले फर्ममा मदत माग्ने प्रयास पनि गरेकी थिइन् तर उनको माग खारेज भएको थियो।

आफूले आत्महत्या गरेमात्र सबै कुरा ठिक हुने निष्कर्षमा समेत मेगन पुगेकी थिइन्।

मेगनमाथि रंगभेदी टिप्पणी हुँदासमेत आफ्ना परिवारले यो तीन वर्षको अवधिका कुनै प्रतिक्रिया नदिँदा आफूलाई दुःख लागेको ह्यारीले पनि बताएका छन्।

ह्यारीले आफ्ना पिता प्रिन्स चार्ल्स र हजुरआमा महारानी एलिजावेथले फोन उठाउन छाडेको पनि बताएका छन्।

‘हजुरआमासँग तीनपटक र बुबासँग दुईपटक कुराकानी भएपछि उहाँहरुले मेरो फोन उठाउन छाड्नु भयो। उहाँहरुले आफ्ना कुरा पत्रमा राख्न भन्नु भएको थियो’ ह्यारी भन्छन्। बीबीसी

यो पनिः ओप्रा विन्फ्रेसँग ह्यारी र मेगनको अन्तर्वार्ता प्रसारण हुँदै, ब्रिटिस राजतन्त्रलाई झट्का

प्रिन्स ह्यारी र मेगनले भनेः छोरा आर्चीले बहिनी उपहार पाउँदैछन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad