ad ad

राजनीति


जसपा नेताको प्रश्न : दुई तिहाइ हुँदा किन गर्नुभएन? प्रचण्डको जवाफ : ओलीका कारण

जसपा नेताको प्रश्न : दुई तिहाइ हुँदा किन गर्नुभएन? प्रचण्डको जवाफ : ओलीका कारण

सागर न्यौपाने
फागुन २६, २०७७ बुधबार १२:३९,

जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (माओवादी केन्द्र)सँग सत्ता समीकरणका लागि आफ्ना माग पूरा हुर्नुपर्ने पुरानै अडान दोहोर्‍याएको छ।

जसपाले सांसद रेशम चौधरीको रिहाइ, मधेस र थरुहट आन्दोलनका क्रममा नेता कार्यकर्ताका लागेका मुद्दा खारेजी र संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएमात्र नयाँ सत्ता समीकरणका लागि तयार हुने बताएको छ।

 बुधबार दिउँसो माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा आफूहरुले सो अडान राखेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए।

प्रचण्ड भेट्न जसपाका तर्फबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो पेरिसडाँडा पुगेका थिए।

माओवादीसँग सत्ता समीकरणका विषयमा केन्द्रित रहेर छलफल भएको महतोले बताए। उनका अनुसार अध्यक्ष प्रचण्डले नयाँ परिस्थिति सिर्जना भएको भन्दै सँगै जाने प्रस्ताव गरेका थिए।

‘ओली प्रवृत्ति र प्रतिगमनविरुद्ध आन्दोलन गरेका दलहरु सँगै जाऊ भनेर प्रचण्डले प्रस्ताव गर्नुभयो,’ महतोले नेपालखबरसँग भने, ‘हामीले हाम्रो मुद्दा सम्बोधन हुनुपर्छ, त्यो माहोल तपाईँ बनाउनुस् भन्यौं। हाम्रा मागका विषयमा कुरा मिले सहयोग गछौं भन्यौँ।’

प्रचण्डले मिलेर सरकार बनाउन सके जसपाले अघि सारेका माग सम्बोधन गर्न कुनै अप्ठ्यारो नभएको बताएका थिए।

प्रचण्डको यस्तो जवाफपछि नेता महतोले कम्युनिस्ट नेतृत्वको दुई तिहाइको सरकार हुँदा मधेसका मुद्दामा किन केही नगरेको भनेर थप प्रश्न गरेका थिए।

‘मैले प्रचण्डजीलाई सोधेँ–दुई तिहाइको कम्युनिस्ट सरकार हुँदा हाम्रा माग किन सम्बोधन नगरेको त?’ जवाफमा प्रचण्डले भने, ‘केही गर्नै सकिएन, त्यहाँ ओलीको त्यस्तो कार्यशैली र व्यवहार छ। केही काम गर्नै दिँदैनन्, त्यो कुरा तपाईंले पनि बुझ्नु भएको छ नि।’

महतोपछि अध्यक्ष महन्त ठाकुरले पनि प्रचण्डमाथि प्रश्न गरेका थिए। उनले सत्ता समीकरणका लागि मात्रै जसपाको एजेन्डामा आएको भए सहमति नहुने र मुद्दामै सहमत हो भने निष्कर्षमा पुग्न सकिने बताए।

‘यो सत्ता समीकरणका लागि मात्र हो कि हाम्रा माग पनि सम्बोधन गर्नेगरी एजेण्डामा पनि सहमत हुनुभएको हो?’, अध्यक्ष ठाकुरले सोधे।

जवाफमा प्रचण्डले भने, ‘पहिला पनि हामीले तपाईँहरुको माग सम्बोधनका लागि पहल गरेकै हौं, अहिले पनि गर्छौँ। माओवादी केन्द्र तपाईंहरुको मागमा कहिले असहमत भएको छ र?

त्यसपछि ठाकुरले मुद्दा मिलेपछि मात्रै सहकार्यबारे निर्णय हुने बताएका थिए।

‘तपाईँ, केपी ओली वा अरु कसैको सरकार किन नहोस्। सरकारले मुद्दा सम्बोधन गर्ने हो। यो सवाल कसरी कार्यान्वयन हुन्छ, त्यो हेरेर हाम्रो पार्टीले निर्णय गर्छ’, ठाकुरले भने।

उनले यसअघि आफूहरुले आश्वासनपछि सहयोग र समर्थन मात्रै गर्दै आएको बताउँदै अब भने मुद्दा हल नभएसम्म कसैलाई पनि सहयोग र समर्थन नगर्ने दोहोर्‍याए।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले विगतमा मधेसका मुद्दा हल गर्ने भनेर उपेन्द्र यादवलाई सरकारमा लगेको स्मरण गर्दै उनले केही काम नगरेपछि फिर्ता भएको बताए।

‘अब हामी मुद्दामा केन्द्रित भएका छौँ। मुद्दाको सम्बोधन हुनुपर्छ, कहिले कुन सरकारले गर्ला, त्यो थाहा भएन’, अध्यक्ष ठाकुरले भने, ‘केपी ओलीले विगतमा त गर्दै गरेनन्। समर्थन गरेर पनि केही काम नगरेपछि समर्थन फिर्ता लिएको हो। उपेन्द्रजी सरकारमा गए पनि केही काम नभएपछि फिर्ता आउनुभएको हो।’

उनले आफूहरु सधैँ शोषण उत्पीडनमा परिरहेको बताउँदै अब पनि यसैको निरन्तरता नचाहेको बताए।

‘तपाईंको पनि सरकार भोलि बन्ला। त्यसबेला के गर्ने हो? हामी अरुलाई बनाइराख्ने र शोषण उत्पीडनमा परिराख्ने त्यो हुँदैन’, प्रचण्डसँग अध्यक्ष ठाकुरले भने, ‘हामी खाली सहयोग र समर्थन दिनका लागि जन्मिएको होइन। हाम्रो आफ्नै मुद्दा र सवाल पनि छ। त्यसलाई सम्बोधन गरिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .