राजनीति


जनक शिक्षालाई मन्त्री श्रेष्ठको निर्देशन : पाठ्यपुस्तक समयमै छाप्नुस्, मतपत्र छाप्न तयार रहनुस्

जनक शिक्षालाई मन्त्री श्रेष्ठको निर्देशन : पाठ्यपुस्तक समयमै छाप्नुस्, मतपत्र छाप्न तयार रहनुस्

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १०:२६,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन्।

मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए। कुनैपनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिए। समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरुमा पुर्‍याउन पनि उनले निर्देशन दिए।

उनले भने, ‘यसले पुस्तक नै विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गर्छ। अब यो आलोचना विगतमा जे जस्तो आयो। बिगतको मैले पास्ट इज पास्ट भनिसकेको छु। वर्तमानमा म यो कमेन्ट सुन्न चाहान्न। त्यसको लागि तपाइँहरुलाई के अप्ठ्यारो छ? पाठ्यक्रमबाट तपाइँहरुलाई सामग्री नआएको हो भने किन ढिला भएको छ तत्काल तपाइँहरु आफैँ पनि पहल गर्नुस्। कुनैपनि पुस्तक छपाइ टाइममा छाप्ने र काठमाडौंमा बसेर त्यो जुम्लाको बिकट गाउँको स्कुल सम्झनु। यहाँ त सजिलै पाउनुहोला। सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरु सप्लाइ हुनुपर्‍यो।’

उनले थपे, ‘अब नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुँदैछ। १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाइँहरुले गर्नैपर्छ। प्रकाशित पुस्तकहरु समयमै त्यो ठाउँमा पुग्नैपर्छ। कहिँकतै कुनैपनि बाहानामा विद्यालयका विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र शुरु हुँदा उनीहरुको हातमा किताब नहुने स्थिति नआउने गरी किताब प्रकाशनको जिम्मा लिइरहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले समयमै विद्यार्थीको हातहातमा उनीहरुको पुस्तक पुगोस् भन्ने आग्रह गर्न चाहान्छु।’

अब नयाँ शैक्षिक सत्र असार देखि शुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नको लागि निर्देशन दिएका हुन्। त्यसैगरी जनक शिक्षा सामग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने बताए। कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे।

उनले भने, ‘सबै हामीले अहिले हेरेका मेशिनहरु मध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेशिन त्यसलाई रेडी पोजिशनमा राख्नुस्। निर्वाचन आयोगले आदेश दिन बित्तिकै खररररर मत पत्र छापिने गरेर तयारीमा रहनुस्। कुनैपनि बेला तपाइँहरुलाई यो आदेश आउनेछ।’

मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .