नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै अब एमालेलाई एक राख्दै माओवादीसँग कार्यगत एकता कायम राख्ने बताएका छन्।
नेकपा एकता अभियान सञ्चालन गर्दै आएका गौतमले सर्वोच्च अदालतको फैसलापछि विकसित परिस्थितिमा तीन विकल्प अघि सारेका हुन्।
गौतमले अब नेकपा एमालेलाई एक बनाउने, माधवकुमार नेपालको सम्मानजनक व्यवस्थापन गर्ने र नेकपा माओवादीसँग कार्यगत एकतामार्फत वामपन्थी सरकारको निरन्तरता दिने प्रस्ताव अघि सारेका छन्।
अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको र एकता अभियान सुरु गरेपछि गौतम समूहले भन्ने गरेको तेस्रो चरणको अवस्थामा पुगेकाे गौतम समूहको भनाइ छ।
‘अबको पहिलो काम भनेको एमाले एक बनाउने, माधवकुमार नेपालको सम्माजनक व्यवस्थापन गर्ने र माओवादीसँग कार्यगत एकता गरेर वामपन्थी नेतृत्वको सरकारलाई निरन्तता दिने हो,’ गौतमले सुरु गरेको एकता अभियानका सहसंयोजक हरि पराजुलीले नेपालखबरसँग भने।
पराजुलीकाअनुसार यस विषयमा गौतमले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कोटेश्वरमा माधव नेपालसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो।
त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको एउटा पक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अर्को पक्षको नेतृत्व गर्दै आएका थिए।
पार्टी नेताहरु दुई पक्षमा विभाजित भई समानान्तर गतिबिधि सुरु गर्दा गौतम भने कुनै पक्षतर्फ नलागी एकता अभियान सञ्चालन गर्दै आएका थिए।
Shares

प्रतिक्रिया