नेकपा (प्रचण्ड–माधव)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको आजको नेकपा नाम विवादमा दिएको फैसला सरोकार नै नभएको विषयमा प्रवेश गरेको टिप्पणी गरेका छन्।
आइतबार राति अबेर सामाजिक सञ्जाल फेसबुकमा फैसलाको प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्।
उनले भनेका छन्, ‘सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिइनेछ।’
फैसलाप्रति दुईवटा कारण दिँदै उनले थप भनेका छन्–
‘अहिलेलाई यति भनिहालौँ -
१, यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज बोध (कमन सेन्स) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ।
यो फैसलाले रिट निवेदकको मागदावीभन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ। रिट निवेदकले हामी तत्कालीन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन। रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सीमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुनेथियो ।तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ। तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ।’
नारायणकाजीले अर्को कारणमा भनेका छन्–
‘२, नेपालको राष्ट्रिय सार्वभौमिकता ,नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार ,संविधान ,लोकतन्त्र ,राजनीतिक स्थिरता, कानुनको शाषन र व्यवस्थाको विरुद्धा विभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ। त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा वक्तव्यमा थप भनेको थियो, अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका विरुद्ध सचेत भइरहन हाम्रो पार्टी सबैलाई अपिल गर्दछ।’
सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को वारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष...
Posted by Narayan Kaji Shrestha on Sunday, March 7, 2021

प्रतिक्रिया